मधेस सरकार र शहीद–घाइते संघर्ष समितिबीचको वार्ता स्थगित

मधेस सरकार र शहीद–घाइते संघर्ष समितिबीचको वार्ता स्थगित
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १९, सोमबार ०८:२४
मधेस सरकार र शहीद–घाइते संघर्ष समितिबीचको वार्ता स्थगित

जनकपुरधाम : लामो समयदेखि प्रतीक्षित वार्ता मधेस प्रदेश सरकार र मधेसी शहीद तथा घाइते हकहित संघर्ष समितिबीच सुरु भएको केही घण्टामै स्थगित भएको छ।

गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीका अनुसार वार्ता आइतबार मधेस प्रदेशको गृह मन्त्रालयमै सुरु भएको थियो। तर, संघर्ष समितिबाट सहभागी संख्या पर्याप्त नभएको भन्दै वार्ता अघि नबढाई स्थगित गरिएको हो।

ADVERTISEMENT

सरकारका अनुसार मधेस आन्दोलनका क्रममा सहादत प्राप्त ६३ जना शहीद परिवार छन्। तर, वार्ता र आन्दोलनमा सहभागीहरू २२/२३ जनामात्रै देखिएको भन्दै सरकारी पक्षले समिति नै गणपुरक नभएको दाबी गर्दै आएको छ।

सरकारी वार्ता टोलीका सदस्य तथा कानुन अधिकृत लक्ष्मण राईका अनुसार संघर्ष समितिका प्रतिनिधिहरू केही हप्तादेखि गृह मन्त्रालयअगाडि धर्ना दिँदै आएका छन्। मन्त्रालयले जेठ १३ गते नै संघर्ष समितिलाई वार्ताका लागि नामावली पठाउन आग्रह गरेको थियो।

‘हामीले वार्ताको वातावरण बनाउन खोजेका थियौं,’ कानुन अधिकृत राईले भने, ‘तर समिति तर्फबाट समावेशी र गणपुरक प्रतिनिधित्व देखिएन। त्यसैले वार्ता अघि बढ्न सकेन।’

मन्त्रालयले गत मंगलबार संघर्ष समितिलाई औपचारिक पत्र पठाउँदै आन्दोलनरत शहीद परिवार तथा घाइतेहरूको समस्या समाधानका लागि पाँच जना प्रतिनिधि पठाउन आग्रह गरेको थियो।

सरकारी वार्ता टोलीमा मन्त्री लेखीसहित प्रदेश सचिव विमलप्रसाद बराल, उपसचिव गणेश नायक र कानुन अधिकृत लक्ष्मण राई रहेका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ १९, सोमबार ०८:२४

तपाईको प्रतिक्रिया !