मधेश सरकार १४ सय महिला कृषक स्वयंसेविका परिचालन गर्ने तयारीमा

मधेश सरकार १४ सय महिला कृषक स्वयंसेविका परिचालन गर्ने तयारीमा
विजयकुमार साह विजयकुमार साह २०८२ जेष्ठ १७, शनिबार १०:०५
मधेश सरकार १४ सय महिला कृषक स्वयंसेविका परिचालन गर्ने तयारीमा

ढल्केबर : मधेश प्रदेश सरकारले कृषि क्षेत्रमा महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित १ हजार ४ सय महिला कृषक स्वयंसेविका परिचालन गर्ने तयारी गरेको छ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार ‘महिला कृषक स्वयंसेविका कार्यक्रम’ अन्तर्गत प्रत्येक वडामा एक–एक जना महिला स्वयंसेविका खटाइनेछ।

ADVERTISEMENT

“स्वास्थ्य क्षेत्रमा जस्तै कृषि क्षेत्रमा पनि सेवा प्रवाह गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो,” मुख्यमन्त्री सिंहले भने, “महिला स्वास्थ्य स्वयंसेविकाले जसरी गाउँ–गाउँमा सेवा पुर्‍याउँदै आउनुभएको छ, त्यसरी नै कृषकसँग प्रत्यक्ष सम्पर्कमा रही कृषि सेवा दिने व्यवस्था मिलाइएको छ।”

उनका अनुसार यो कार्यक्रमले कृषि उत्पादनमा ठूलो फड्को मार्नुका साथै रोजगारी सिर्जना र आत्मनिर्भर मधेश निर्माणमा टेवा पुर्‍याउनेछ।

“मधेश भनेको श्रमको प्रदेश हो। वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा पनि यो प्रदेश अगाडि छ,” मुख्यमन्त्री सिंहले भने, “अब कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्दै युवालाई यतै श्रम खर्चिने वातावरण बनाउँदैछौं।”

सरकारले स्वयंसेविकालाई आवश्यक तालिम प्रदान गरी कृषि प्रवर्द्धन, बिउ उत्पादन, किरा नियन्त्रण, मल व्यवस्थापनलगायतका विषयमा कृषकलाई सेवा दिने जिम्मेवारी दिनेछ।

मुख्यमन्त्री सिंहका अनुसार, यो कार्यक्रमले महिलालाई रोजगारीसँगै आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य लिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जेठ १५ गते सूचना प्रकाशित गर्दै स्वयंसेविकाका लागि दरखास्त आह्वान गरिसकेको छ। इच्छुक महिलाले १५ दिनभित्र कृषि ज्ञान केन्द्रमा दरखास्त दिन सक्नेछन्।

प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार १०:०५
विजयकुमार साह

विजयकुमार साह

लेखक


तपाईको प्रतिक्रिया !