मधेश सरकारलाई बीपी साहको सुझाव : “एक घर, एक रोजगारीदेखि सल्हेस करिडोर निर्माणसम्म”

मधेश सरकारलाई बीपी साहको सुझाव : “एक घर, एक रोजगारीदेखि सल्हेस करिडोर निर्माणसम्म”
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ जेष्ठ १६, शुक्रबार १२:३९
मधेश सरकारलाई बीपी साहको सुझाव : “एक घर, एक रोजगारीदेखि सल्हेस करिडोर निर्माणसम्म”

जनकपुरधाम : आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मधेश प्रदेश सरकारको नीति, कार्यक्रम र बजेट निर्माण सन्दर्भमा जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहले विभिन्न सुझावसहित औपचारिक पत्र प्रदेश सरकारलाई बुझाएको छ।

सचिव साहले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई सुझावपत्र बुझाउँदै संघीयता, गणतन्त्र र पहिचानको जगमा स्थापित मधेश सरकारलाई थप सशक्त बनाउन आग्रह गरेका छन्। उनले मधेशी जनताको जीवनस्तर उकास्ने उद्देश्यले प्रस्तुत ११ बुँदे सुझावहरु तत्काल, मध्यमकालीन र दिगो विकासको आधारमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

ADVERTISEMENT

तत्काल कार्यान्वयनका लागि तीन सुझाव

एक घर, एक रोजगारी योजना
साहले मधेशका प्रत्येक घरका कम्तीमा एक सदस्यलाई रोजगारी दिने कार्यक्रम ल्याउन आग्रह गरेका छन्। “यसले गरिबी न्यूनीकरण र युवाको विदेश पलायन रोक्न सघाउ पुर्‍याउँछ,” उनले भने।

निजी क्षेत्रका कर्मचारीलाई प्रोत्साहन अनुदान
शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यरत निजी क्षेत्रका शिक्षक तथा स्वास्थ्यकर्मीलाई वार्षिक रु. १ लाख नगद अनुदान दिनुपर्ने प्रस्ताव छ। “उनीहरू पनि देशका नागरिकलाई सेवा दिइरहेका छन्,” सुझावपत्रमा भनिएको छ।

मधेश यातायात सेवा र महिलालाई निःशुल्क सुविधा
प्रदेशका आठवटै जिल्लालाई जोड्ने ‘मधेश यातायात सेवा’ सञ्चालन गरी महिलालाई निःशुल्क यात्राको व्यवस्था गर्न आग्रह गरिएको छ।

मध्यमकालीन कार्यान्वयनका लागि चार सुझाव

मोटरसाइकल नविकरणमा छुट
सामान्य नागरिकले प्रयोग गर्ने मोटरसाइकलको नविकरण शुल्कमा छुट वा मिनाहा दिनुपर्ने सुझाव जनमत पार्टीले दिएको छ।

गंगालाल हृदयरोग अस्पतालको शाखा स्थापना
मधेशमा गंगालाल अस्पतालको शाखा स्थापना गरी हृदयसम्बन्धी उपचार सेवा सहज र पहुँचयोग्य बनाउनुपर्ने र प्रारम्भिक औषधि तथा इन्जेक्सन निःशुल्क गरिनुपर्ने माग गरिएको छ।

एसईईपछि अनिवार्य सैन्य तालिम
युवामा अनुशासन र आत्मरक्षा सीप विकासका लागि एसईईपछि ६ महिनाको आधारभूत सैन्य तालिम अनिवार्य गरिनुपर्ने प्रस्ताव गरिएको छ।

दिगो विकास र सांस्कृतिक संरक्षणका चार सुझाव

मधेशको इतिहासलाई पाठ्यक्रममा समावेश
विद्यालय तथा कलेज स्तरमा मधेशको इतिहास, संघीयता र लोकतान्त्रिक आन्दोलनसम्बन्धी विषयलाई समावेश गर्नुपर्ने माग गरिएको छ।

सल्हेस पर्यटन करिडोर विकास
मानिकदह, शल्हेस फुलबारी र महिषोथागढलाई जोड्ने सल्हेस पर्यटन करिडोर निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको छ।

जानकी नवमीमा ‘मिथिला सांस्कृतिक रथ यात्रा’
प्रत्येक वर्ष जानकी नवमीको अवसरमा मिथिलाको सांस्कृतिक प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेशस्तरीय रथ यात्रा आयोजना गर्नुपर्ने सुझाव छ।

महादेव धार्मिक करिडोरको निर्माण
सप्तेश्वरनाथदेखि क्षिरेश्वरनाथसम्मका प्रमुख शिवस्थलहरुलाई समेट्ने धार्मिक करिडोर निर्माण गरी पर्यटकीय गन्तव्यको विकास गर्नुपर्ने जनमत पार्टीको प्रस्ताव छ।

सीमावर्ती क्षेत्र विकासमा छुट्टै कार्यक्रम

साहले सीमावर्ती क्षेत्रहरू अझै पनि आधारभूत सेवा पहुँचबाट बञ्चित रहेको भन्दै त्यहाँ संरचना, शिक्षा र स्वास्थ्य क्षेत्र विस्तारका लागि विशेष कार्यक्रम ल्याउन आग्रह गरेका छन्।

मुख्यमन्त्री सिंहलाई बुझाइएको सो सुझावपत्रमा प्रदेश सरकारलाई ‘बलियो संघीयता’ र ‘आत्मनिर्णयको अधिकार’ संस्थागत गर्दै जनतामाझ संघीयताको विश्वास निर्माण गर्न नीति तथा कार्यक्रममार्फत ठोस पहल गर्न सुझाव दिइएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १६, शुक्रबार १२:३९

तपाईको प्रतिक्रिया !