महोत्तरीमा नेपाल फूल माली समाजको पहिलो जिल्ला अधिवेशन सम्पन्न

महोत्तरीमा नेपाल फूल माली समाजको पहिलो जिल्ला अधिवेशन सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १५, बिहीबार २१:०९
महोत्तरीमा नेपाल फूल माली समाजको पहिलो जिल्ला अधिवेशन सम्पन्न

महोत्तरी : नेपाल फूल माली समाज महोत्तरीको पहिलो जिल्ला अधिवेशन जलेश्वर नगरपालिका–२ स्थित जिल्ला सामान्य समितिको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा सागर माली प्रमुख अतिथिका रूपमा सहभागी थिए भने अधिवेशनको अध्यक्षता राम आधार भण्डारीले गरेका थिए।

ADVERTISEMENT

विशिष्ट अतिथि जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले माली समुदायको परिश्रमशीलता, उद्यमशीलता र सामाजिक योगदानको प्रशंसा गर्दै भने, “स्थानीय उत्पादन, व्यवसाय र रोजगारीमा समुदायको भूमिका अझ सशक्त बनाउन आवश्यक छ।” उनले माली समुदायको आर्थिक सशक्तीकरणका लागि संघको तर्फबाट सहकार्यको सम्भावना रहेको उल्लेख गरे।

मटिहानी नगर प्रमुख हरिप्रसाद मण्डलले माली समुदायको समावेशी विकासका पक्षमा आफू प्रतिबद्ध रहेको भन्दै स्थानीय सरकारबाट आवश्यक सहयोग जारी रहने बताए।

अधिवेशनमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा युवाहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा समाजको संगठनात्मक सुदृढीकरण, सामुदायिक अधिकार संरक्षण, सामाजिक न्याय र समावेशी सहभागिता सम्बन्धी विषयमा विशेष छलफल भएको थियो।

अधिवेशनले राम आधार भण्डारीलाई नेपाल फूल माली समाज महोत्तरीको पहिलो जिल्ला अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित समितिले समुदायको सामाजिक, आर्थिक र शैक्षिक उत्थानका लागि विभिन्न कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश शाह सोनार, मटिहानी नगर प्रमुख हरिप्रसाद मण्डल, एकडारा गाउँपालिका अध्यक्ष दीप नारायण मण्डल, महोत्तरी गाउँपालिका अध्यक्ष दिलीप पाण्डे, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ जेष्ठ १५, बिहीबार २१:०९

तपाईको प्रतिक्रिया !