गणतन्त्र केवल शासन पद्धति होइन, नागरिकको अधिकार र आत्मसम्मानको सुनिश्चितता हो : मुख्यमन्त्री सिंह

गणतन्त्र केवल शासन पद्धति होइन, नागरिकको अधिकार र आत्मसम्मानको सुनिश्चितता हो : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १५, बिहीबार १७:५५
गणतन्त्र केवल शासन पद्धति होइन, नागरिकको अधिकार र आत्मसम्मानको सुनिश्चितता हो : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै गणतन्त्र नेपाली जनताको ऐतिहासिक बलिदान र संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि भएको बताएका छन्।

मुख्यमन्त्री सिंहले भनेका छन्, ‘संविधानले गणतन्त्रलाई नेपालको शासन प्रणालीको रूपमा स्वीकार गरी आठ वर्ष बितिसकेको छ। यस अवधिमा हामी समानता, समावेशिता र सामाजिक न्याय प्राप्तिको बाटोमा अगाडि बढिरहेका छौं, यद्यपि यसलाई अझ गति दिन जरुरी छ।’

ADVERTISEMENT

गणतन्त्र केवल शासन प्रणालीको परिभाषा नभई नागरिकको अधिकार, आत्मसम्मान र सशक्त उपस्थितिको सुनिश्चितता भएको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले आजको दिन आत्मसमीक्षा गर्ने अवसर भएको बताए। ‘के हामीले संविधानको मर्मअनुसार नागरिक अधिकार स्थापित गर्न सकेका छौं? के गरिब, सीमान्तकृत र उपेक्षित समुदायको सपना पुरा भएको छ?’ उनले प्रश्न गरे।

उनले प्रदेश सरकार गणतन्त्रको मर्मअनुसार जनताको अनुभूति हुने गरी सेवा प्रवाहमा क्रियाशील रहेको भन्दै बाँकी कार्यभार त्यसैमा केन्द्रित हुने स्पष्ट पारे।

‘संविधानले परिकल्पना गरेको समावेशी, समान र समृद्ध नेपाल निर्माणमा राज्य संयन्त्र, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नागरिकको साझा जिम्मेवारी छ,’ सन्देशमा भनिएको छ, ‘गणतन्त्रको मूल्य र मर्मलाई जीवन्त राख्न लोकतान्त्रिक आचरण, जवाफदेहिता र सुशासन अनिवार्य छ।’

मुख्यमन्त्री सिंहले गणतन्त्र दिवस केवल उत्सव मनाउने दिन नभई गणतन्त्रको संस्थागत सुदृढीकरण र नागरिक अधिकारको प्रत्याभूति गर्ने संकल्प दोहोर्याउने दिन पनि भएको बताए।

सन्देशको अन्त्यमा मुख्यमन्त्री सिंहले सम्पूर्ण देशवासीलाई गणतन्त्र दिवस २०८२ को शुभकामना दिँदै समानता, समावेशिता र सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणको यात्रामा एकजुट हुन आग्रह गरेका छन्। उनले मधेश प्रदेश सरकारले त्यस दिशामा निरन्तर प्रयत्नशील रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ १५, बिहीबार १७:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !