जनकनन्दिनी गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु

जनकनन्दिनी गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ जेष्ठ १५, बिहीबार १७:०८
जनकनन्दिनी गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु

खजुरी (धनुषा ) : धनुषाको जनकनन्दिनी गाउँपालिका–४ खजुरीमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएको छ।

बुधबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगलले संयुक्त रूपमा रिबन काटेर सेवा उद्घाटन गरे। कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मी, स्थानीय समाजसेवी तथा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ADVERTISEMENT

गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षणमा पहुँच विस्तार गर्ने लक्ष्यसहित सुरु गरिएको यो सेवा गाउँपालिकाको स्वास्थ्य पूर्वाधार सुदृढीकरणतर्फको पहलको रूपमा हेरिएको छ। सेवा सञ्चालनका लागि ‘वन हार्ट’ नामक संस्थाले आवश्यक अल्ट्रासाउण्ड उपकरण प्रदान गरेको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ग्रामीण क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले अल्ट्रासाउण्ड सेवा सुरु गरिएको बताए। उनले आगामी दिनमा थप स्वास्थ्य सेवाहरू विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उपाध्यक्ष सहगलले महिलाहरू समयमै स्वास्थ्य परीक्षणमा नपुग्दा समस्या उत्पन्न हुने गरेको भन्दै यस सेवाले सुरक्षित मातृत्वमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिन्।

स्वास्थ्य शाखाका प्रतिनिधिहरूका अनुसार यो सेवा मार्फत गर्भावस्थाका जटिलता पहिचान गर्न, मातृ मृत्युदर घटाउन र सुरक्षित मातृत्व सुनिश्चित गर्न सहयोग पुग्नेछ।

स्थानीय महिलाहरूले सेवा सुरु भएकोमा खुसी व्यक्त गरेका छन्। अब स्वास्थ्य परीक्षणका लागि शहर जानु नपर्ने भन्दै उनीहरूले राहत महसुस गरेका छन्।

जनकनन्दिनी गाउँपालिकामा पहिलोपटक सुरु गरिएको यस प्रकारको सेवा सम्पूर्ण वडाका नागरिकका लागि लाभदायी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १५, बिहीबार १७:०८

तपाईको प्रतिक्रिया !