धनुषामा फर्जी राहदानी फेला : प्रशासनमै लापरवाहीको आशंका

धनुषामा फर्जी राहदानी फेला : प्रशासनमै लापरवाहीको आशंका
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ १२, सोमबार १६:४३
धनुषामा फर्जी राहदानी फेला : प्रशासनमै लापरवाहीको आशंका

जनकपुरधाम : धनुषाको यदुकुवा स्थित इलाका प्रशासन कार्यालयबाट जारी गरिएको राहदानी (पासपोर्ट) प्रमाणपत्र फर्जी भेटिएको प्रकरणले सनसनी फैलिएको छ। हालसम्म सो कार्यालयबाट जारी गरिएका तीनदेखि चारवटा प्रमाणपत्र फर्जी भएको पुष्टि भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख गणेशचन्द्र मिश्रले फर्जी राहदानी प्रमाणपत्र फेला परेको स्वीकार गरेका छन्। तर ती राहदानी कसको नाममा, कहिले र कुन अधिकृतमार्फत जारी गरिएको भन्ने विवरण खुलाउन मानेनन्। उनले भने, ‘३–४ वटा राहदानी फर्जी फेला परेका छन्, तर विस्तृत विवरण अहिले भन्न मिल्दैन।’

ADVERTISEMENT

फर्जी राहदानी प्रकरण सार्वजनिक भएपछि स्थानीय नागरिक समाज तथा सरोकारवालाहरूले प्रशासनिक संयन्त्रमै गम्भीर कमजोरी रहेको भन्दै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्। स्थानीय रमन यादव भन्छन्, ‘राहदानी प्रमाणपत्रजस्तो संवेदनशील कागज फर्जी हुने हो भने यो राज्यप्रतिकै अविश्वास हो। दोषी जोसुकै होस्, कडा कारबाही हुनु पर्छ।’

तर जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाले भने आफूलाई फर्जी राहदानी प्रमाणपत्रको विषयमा कुनै जानकारी नभएको बताएका छन्।

एक प्रशासनिक स्रोतका अनुसार उक्त राहदानी प्रकरणमा सरकारी कर्मचारी वा बाह्य दलाल समूहको संलग्नता रहेको आशंका गरिएको छ।

स्थानीय प्रशासनमाथिको यो प्रश्नचिन्हले देशका अन्य जिल्लामा समेत यस्ता फर्जी कार्य भइरहेको सम्भावना खारेज गर्न नसकिने देखिएको छ। यदि समयमा नियन्त्रणमा लिइएन भने यसले राष्ट्रियस्तरमै गम्भीर असर पार्न सक्ने सरोकारवालाहरूको भनाइ छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १२, सोमबार १६:४३

तपाईको प्रतिक्रिया !