धनुषाको यदुकुवा ईलाका प्रशासन कार्यालयमा बिचौलियाको बिगबिगी, सेवाग्राही हैरान

धनुषाको यदुकुवा ईलाका प्रशासन कार्यालयमा बिचौलियाको बिगबिगी, सेवाग्राही हैरान
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ १२, सोमबार १४:२६
धनुषाको यदुकुवा ईलाका प्रशासन कार्यालयमा बिचौलियाको बिगबिगी, सेवाग्राही हैरान

जनकपुरधाम : धनुषा जिल्लाको यदुकुवा ईलाका प्रशासन कार्यालयमा बिचौलियाको प्रभाव दिनप्रतिदिन बढ्दै गएको भन्दै सेवाग्राहीहरूले गुनासो गरेका छन्। सरकारी सेवा लिन कार्यालय जाने सर्वसाधारण बिचौलिया र कर्मचारीको असहयोगले हैरान भएका छन्।

धनुषाको कमला नगरपालिकाका एक सेवाग्राही ४–५ दिनदेखि राहदानी नवीकरणका लागि कार्यालय धाइरहेका छन्। तर, आवश्यक सम्पूर्ण कागजात बोकेर पुगे पनि उनको राहदानी नवीकरण हुन सकेको छैन।

ADVERTISEMENT

“सबै कागजात लिएर गएका थिएँ, तर पनि काम भएन,” उनले मधेशपत्रसंग भने, “पटक–पटक जाँदा पनि कर्मचारीले नयाँ कागजात मागिरहन्छन्। कहिले के, कहिले के चाहिन्छ भन्छन्।”

उनका अनुसार कार्यालय वरपर खुलेआम बिचौलिया सक्रिय छन्। “एक-दुई जना बिचौलियाले दुई–तीन हजार रुपैयाँ दिनुस्, तपाईंको काम तुरुन्त गराइदिन्छु भने,” उनले सुनाए, “मैले पैसा नदिएको कारणले काम रोकिने अवस्था आयो कि जस्तो लाग्यो।”

गाउँबाट करिब १५–१६ किलोमिटर यात्रा गरेर बिहान १० बजे नै कार्यालय पुग्ने उनी साँझसम्म पनि काम नसकिएको गुनासो गर्छन्। “कहिले वडा कार्यालयको सिफारिस चाहिन्छ भनिन्छ, तर कानुनी रूपमा त्यो अनिवार्य होइन भन्ने जानकारी छ,” उनले भने, “एकातिर बिचौलियाको चलखेल, अर्कोतिर कर्मचारीको टर्रो व्यवहारले हामीजस्ता सर्वसाधारण मर्कामा परेका छौँ।”

यदुकुवा ईलाका प्रशासन कार्यालयमा देखिएको अव्यवस्था र बिचौलिया सक्रियता अन्त्य गर्न सेवाग्राहीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण होस् भने माग गरेका छन् ।

यता, ईलाका प्रशासन कार्यालय यदुकुवाका प्रमुख गणेश चन्द्र मिश्रले केही राहदानीहरू फर्जी फेला परेपछि सावधानीस्वरूप वडा कार्यालयको सिफारिस माग गर्न थालेको बताए।

“यही कार्यालयबाट जारी भएका ३–४ वटा राहदानी फर्जी भेटिएको कारण हामीले अब वडा कार्यालयको सिफारिस माग्न थालेका हौँ,” प्रमुख मिश्रले भने।

प्रकाशित मिति: २०८२ जेष्ठ १२, सोमबार १४:२६
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !