बृहत्तर जनकपुरका अध्यक्ष शितल साहविरुद्ध किर्ते र जालसाजी अभियोगमा पक्राउ पुर्जी जारी

बृहत्तर जनकपुरका अध्यक्ष शितल साहविरुद्ध किर्ते र जालसाजी अभियोगमा पक्राउ पुर्जी जारी
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १२, सोमबार ११:२०
बृहत्तर जनकपुरका अध्यक्ष शितल साहविरुद्ध किर्ते र जालसाजी अभियोगमा पक्राउ पुर्जी जारी

जनकपुरधाम : बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहविरुद्ध किर्ते र जालसाजीको अभियोगमा धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासमानको नक्कली हस्ताक्षर प्रयोग गरी कर्मचारी हटाउने पत्र उच्च अदालतमा पेश गरेको अभियोगमा अदालतले साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। पासमानले आफैंले हस्ताक्षर नगरेको कागजात अदालतमा बुझाइएको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो।

ADVERTISEMENT

प्रहरी स्रोतका अनुसार विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट हस्ताक्षर किर्ते भएको पुष्टि भएपछि जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो।

साह अध्यक्ष नियुक्त भएयता निरन्तर विवादमा तानिँदै आएका छन्। स्रोतका अनुसार उनले केही कर्मचारीलाई गैरकानुनी रूपमा निलम्बन गर्नुका साथै डेढ वर्षदेखि तलबसमेत रोक्का गरेका छन्। कार्यालयमा नियमित कामकाजसमेत हुन नदिएको आरोप लाग्दै आएको छ।

परिषद् कर्मचारीहरूका अनुसार अध्यक्ष साहले कार्यकारी निर्देशक पासमानलाई पटक–पटक धम्की दिने, मनोमानी आदेश थोपर्ने र गैरकानुनी निर्णयका लागि दबाब दिने गरेका थिए। सार्वजनिक रूपमा सरल र व्यावहारिक मानिने पासमानप्रति गरिएको व्यवहारप्रति कर्मचारीहरू असन्तुष्ट देखिएका छन्।

साहमाथि भारतीय नम्बर प्लेट भएको टाटा सुमोमा नेपाली नम्बरको किर्ते प्लेट राखेर चलाएको आरोपसमेत छ। प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको भए पनि अहिलेसम्म कारबाही प्रक्रिया अघि नबढाइएको भन्दै आलोचना भइरहेको छ।

यस्तै, एक कर्मचारीले दिएको १ लाख रुपैयाँ सापटी फिर्ता नगरेको उजुरीसमेत जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गरिएको छ।

साह केही दिनदेखि मोबाइल फोन बन्द अवस्थामा रहेको र कार्यालय तथा सार्वजनिक कार्यक्रममा नदेखिएको कर्मचारीहरूले बताएका छन्। उनीमाथि मुद्दा परेपछि नेकपा (एकीकृत समाजवादी) परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका थिए। तर पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका छन्।

धनुषा प्रहरीले साहलाई खोजी सूचीमा राखेको छ। किर्ते जालसाजीको मुद्दामा अनुसन्धानको हदम्याद दुई वर्ष हुने प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: २०८२ जेष्ठ १२, सोमबार ११:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !