राति १० बजेपछि बन्द हुने औषधि पसलले जलेश्वरका बिरामी समस्यामा

राति १० बजेपछि बन्द हुने औषधि पसलले जलेश्वरका बिरामी समस्यामा
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ११, आईतवार ०९:०८
राति १० बजेपछि बन्द हुने औषधि पसलले जलेश्वरका बिरामी समस्यामा

जलेश्वर : प्रादेशिक अस्पताल जलेश्वर नजिकै रहेका दर्जनौं औषधि पसल दिनभर बिरामी तान्न व्यस्त देखिन्छन्। तर राति १० बजेपछि सबै पसल बन्द हुने गरेका छन्। यसले आकस्मिक सेवाका लागि रातको समयमा अस्पताल पुग्ने बिरामीलाई ठूलो समस्या बनाइरहेको छ।

अस्पताल परिसरभित्र रहेको सरकारी फार्मेसीमा सीमित औषधि मात्र उपलब्ध हुँदा डाक्टरले सिफारिस गरेका सबै औषधि त्यहाँ पाउन सकिँदैन। त्यसबाहेकका औषधिको आवश्यकतामा बिरामी र उनका आफन्त अन्योलमा पर्न बाध्य छन्।

ADVERTISEMENT

“हामी छोरीलाई लिएर राति ११ बजे अस्पताल आइपुग्यौं, तर डाक्टरले लेखेको औषधि अस्पतालभित्र थिएन। बजारका सबै पसल बन्द रहेछन्। बाध्य भएर जनकपुर जानुपर्‍यो,” जलेश्वर नगरपालिका–४ का रामेश्वर साहले भने।

स्थानीय औषधि व्यवसायीहरू दिनको समयमा ग्राहक ल्याउने प्रतिस्पर्धामा देखिए पनि रातको समयमा जिम्मेवारीबाट पन्छिन खोजेको स्थानीयको गुनासो छ। जबकि प्रादेशिक अस्पतालले दैनिक सयौं बिरामीलाई सेवा दिइरहेको छ र रातिको समयमा समेत इमर्जेन्सी कक्षमा बिरामीको चाप उत्तिकै रहने गर्छ।

“स्वास्थ्य सेवा २४ सै घण्टा उपलब्ध हुनुपर्छ। औषधिको अभावका कारण ज्यान जोखिममा पर्ने अवस्था अत्यन्तै दुःखद हो,” नाम नखुलाउने शर्तमा एक स्वास्थ्यकर्मीले भने। उनले स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयलाई औषधि पसलको पालो मिलाएर रातको समयमा पनि सेवा खुला गराउने व्यवस्था गर्न आग्रह गरे।

“हामीले पटक–पटक औषधि पसलहरूलाई राति पनि खुला राख्न अनुरोध गरेका छौं, तर उनीहरूले व्यापारिक हितलाई प्राथमिकता दिएका छन्,” ती स्वास्थ्यकर्मीले बताए।

जनस्वास्थ्यको आधारभूत आवश्यकता औषधि पहुँचमै खल्बल हुँदा आपतकालीन सेवामा आउने बिरामी र उनका परिवार अनावश्यक मानसिक तनावमा पर्ने गरेका छन्। चिकित्सकहरूका अनुसार समयमै औषधि नपाउँदा कतिपय अवस्थामा बिरामीको अवस्था गम्भीरसमेत हुने गर्छ।

रातको समयमा औषधिको आवश्यकता परेमा जनकपुरधामसम्म पुग्नुपर्ने बाध्यता बिरामीहरूका लागि आर्थिक र मानसिक बोझ बन्न थालेको छ। सम्बन्धित निकायको बेवास्ता रहिरहे स्वास्थ्य अधिकारको निरन्तर उल्लंघन हुने देखिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतवार ०९:०८

तपाईको प्रतिक्रिया !