मधेशका नवनियुक्त मन्त्री कुशवाहा र यादवलाई जनताको पक्षमा ठोस काम गर्न इन्द्रजीतको आग्रह

मधेशका नवनियुक्त मन्त्री कुशवाहा र यादवलाई जनताको पक्षमा ठोस काम गर्न इन्द्रजीतको आग्रह
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ जेष्ठ १०, शनिबार २२:५४
मधेशका नवनियुक्त मन्त्री कुशवाहा र यादवलाई जनताको पक्षमा ठोस काम गर्न इन्द्रजीतको आग्रह

जनकपुरधाम : जनमत पार्टीका उपमहासचिव इञ्जिनियर इन्द्रजीत यादवले मधेश प्रदेश सरकारमा सहभागी भएका आफ्नै पार्टीका दुबै नवनियुक्त मन्त्रीलाई कार्यप्रति गम्भीर बन्न चेतावनी दिएका छन्।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहा र वन तथा वातावरण मन्त्री संजय कुमार यादवलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले मन्त्रालयको दायित्वसँगै पार्टीको अस्तित्व जोगाउने जिम्मेवारी पनि सम्झाएका छन्।

ADVERTISEMENT

“मधेश प्रदेशको समसामयिक परिस्थितिमा जनमत पार्टीले दुईजना नयाँ मन्त्रीहरू—उद्योग तथा पर्यटनमा माननीय वसन्त कुशवाहा, वन तथा वातावरणमा माननीय संजय कुमार यादव नियुक्त गरेर नेतृत्वमा केही नयाँपन ल्याउने प्रयास गरेको छ,” फेसबुकमा लेख्दै उनले भनेका छन्, “उहाँहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्छु।”

तर यादवको पोस्ट शुभकामनामै सीमित छैन। उनले मन्त्रीहरूलाई कडा सन्देशसमेत दिएका छन्।

“मन्त्रीज्यूहरू, तपाईंहरूको काँधमा अब केवल मन्त्रालयको जिम्मेवारी होइन, पार्टीको अस्तित्व जोगाउने दायित्व पनि छ,” उनले लेखेका छन्, “तपाईंहरूको काम जनताले सूक्ष्म निगरानीमा हेर्नेछन्। परिणाम नआए, व्यवहार फेरिएन, जनताको जीवनमा सुधार आएन भने २०८४ को चुनावमा तपाईं मात्र होइन, जनमत पार्टी नै विस्थापित हुनेछ—न जनताको मनमा ठाउँ रहनेछ, न राजनीतिक मैदानमा स्थान।”

जनताको पक्षमा ठोस काम गर्न पनि उनले मन्त्रीहरूलाई आग्रह गरेका छन्। “समय अझै छ – सेवा गरौं, गरिब र जनताको पक्षमा ठोस काम गरौं,” यादवले भनेका छन्, “नत्र मधेश फेरि निराश हुनेछ, र तपाईंहरू इतिहासका एक असफल अध्यायमा सीमित हुनुहुनेछ।”

प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिबार २२:५४
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !