सिरहाको दलित बस्तीमा कलधाराबाट सहज भयो खानेपानी

सिरहाको दलित बस्तीमा कलधाराबाट सहज भयो खानेपानी
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १०, शनिबार २१:५१
सिरहाको दलित बस्तीमा कलधाराबाट सहज भयो खानेपानी

सिरहा : सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–४ स्थित तेनवापट्टी दलित बस्तीमा दुई महिनाअघि निर्माण गरिएको कलधाराले स्थानीयलाई खानेपानीको समस्या समाधान गरिदिएको छ।

दक्षिणतर्फ पर्ने हुलाकी सडक नजिक रहेको उक्त बस्तीमा ६० दलित परिवारका झण्डै चार सयभन्दा बढी मानिस बसोबास गर्छन्। यसअघि एउटै कुवाको भरमा गुजारा गरिरहेका स्थानीय अहिले भने दसवटा कलधाराबाट सहज रुपमा पानी प्रयोग गर्न पाएका छन्।

ADVERTISEMENT

बरियारपट्टी गाउँपालिका र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा स्थापना गरिएका यी कलधाराले समुदायको जीवनस्तर सहज बनाएको स्थानीयको भनाइ छ।

स्थानीय अधनियादेवी सदायले भनिन्, “दुई महिना अघिसम्म पानीका लागि एउटै कुवामा भर पर्नुपर्थ्यो। बिहानैदेखि लाइन बस्नुपर्थ्यो। अहिले भने जति बेला पनि पानी भर्न सकिन्छ।”

बस्तीकै अर्की अमरिकाकुमारी सदायका अनुसार पहिलेको कुवाबाट फोहर पानी आउँथ्यो। “अहिले ट्युबवेलबाट सफा पानी पाइन्छ,” उनले भनिन्।

बरियारपट्टी–२ स्थित खोक्सी दलित बस्तीका ४० परिवार पनि अघिसम्म पानीको चरम अभावमा थिए। अहिले त्यहाँ दुईवटा कलधारा निर्माण भइसकेको छ। बस्तीकी फूलकुमारी पासवानका अनुसार थप केही कलधारा निर्माणको प्रक्रिया अघि बढिरहेको छ।

यस्तै, वडा नम्बर १ अन्तर्गत पर्ने नर्गिमा दलित बस्तीमा पनि हालसम्म ६ वटा कलधारा निर्माण भइसकेका छन्। गर्मीमा पानीको प्रयोग सहज भएको स्थानीय बताउँछन्।

दलित जनकल्याण युवा क्लबका कार्यक्रम संयोजक लालुप्रसाद पोखरेलका अनुसार बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीमा हालसम्म ४८ वटा कलधारा निर्माण गरिएका छन्। “एउटै कुवाको भरमा जीवन बिताइरहेका बस्तीमा पानी पुर्‍याउने उद्देश्यले हामीले यो पहल गरेका हौँ,” उनले भने।

उनका अनुसार एउटा कलधाराको लागत ३० हजारदेखि ६० हजार रुपैयाँसम्म परेको छ। परियोजनामार्फत पानी मात्र होइन, सरसफाइ, स्वच्छता, जीविकोपार्जन र सामुदायिक सशक्तीकरणमा समेत काम भइरहेको पोखरेलले जानकारी दिए।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामजुलुम मण्डलले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै विपन्न दलित समुदायको जीवनस्तर उकास्न सहयोग गरिरहने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिबार २१:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !