सप्तरीको मलेकपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर

सप्तरीको मलेकपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १०, शनिबार १७:२०
सप्तरीको मलेकपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर

राजविराज : सप्तरीमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

राजगढ गाउँपालिका–५ मलेकपुरस्थित हुलाकी सडकखण्डमा इँटा लोड गरिएको ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पत्थरगाडाबाट राजविराजतर्फ जाँदै गरेको स १ त ५४४२ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आइरहेको म.प्र.०२–०१९ प. ९६२६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनामध्ये एक जनाको गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज ल्याउँदै गर्दा मृत्यु भएको हो। अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै मृतकको नाम र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये एक जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।

प्रहरीका अनुसार ट्याक्टर र मोटरसाइकल दुवै नियन्त्रणमा लिइएको छ भने ट्याक्टर चालक भने फरार छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिबार १७:२०

तपाईको प्रतिक्रिया !