मधेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन, जनमतका कुशवाहा र यादव मन्त्री नियुक्त

मधेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन, जनमतका कुशवाहा र यादव मन्त्री नियुक्त
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ८, बिहीबार २३:२४
मधेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन, जनमतका कुशवाहा र यादव मन्त्री नियुक्त

जनकपुरधाम : मधेश प्रदेश सरकारमा पुनः मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। जनमत पार्टीका तर्फबाट वसन्त कुमार कुशवाहा र सञ्जय कुमार यादवलाई मन्त्रिपरिषद्मा समावेश गर्दै बिहीबार पद तथा गोपनीयताको शपथ गराइएको हो।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनकपुरधामस्थित कार्यालयमा आयोजित एक समारोहमा उनीहरूलाई शपथ गराएकी हुन्। शपथपछि वसन्त कुमार कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सञ्जय कुमार यादवले वन तथा वातावरण मन्त्रालय सम्हाल्ने भएका छन्।

ADVERTISEMENT

मुख्यमन्त्री सतीश कुमार सिंहको नेतृत्वमा संविधानको धारा १६८(९) बमोजिम पुनर्गठित मन्त्रिपरिषद्मा अहिले १२ जना मन्त्री रहेका छन्। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै सरकारलाई थप सुदृढ बनाउने र जनमत पार्टीको प्रभावलाई संस्थागत गर्ने प्रयास गरिएको देखिन्छ।

प्रदेश सरकारले यसपटक मन्त्रालयहरूको बाँडफाँडमा समावेशिता, राजनीतिक सन्तुलन र कार्यक्षमतालाई ध्यानमा राखेको जनाएको छ। मन्त्रीहरूलाई आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै विकास, सुशासन र पारदर्शिताका माध्यमबाट मधेश प्रदेशलाई समृद्ध बनाउने अपेक्षा गरिएको छ।

नयाँ मन्त्रिपरिषद्ले मधेश प्रदेशमा विकास निर्माण, पूर्वाधार सुदृढीकरण, रोजगारीको सृजना, सामाजिक न्याय र वातावरणीय संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने बताइएको छ। सत्तारुढ गठबन्धनभित्रको सहमतिअनुसार पुनर्गठन गरिएको मन्त्रिपरिषद्ले मधेशमा राजनीतिक स्थायित्व ल्याउने अपेक्षा गरिएको छ।

शपथपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नवनियुक्त मन्त्रीहरू कुशवाहा र यादवले जनअपेक्षा अनुरूप सेवा प्रवाहमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए। सरकारका बाँकी योजनाहरू अब चाँडै सार्वजनिक गरिने जनाइएको छ।

पुनर्गठित मधेश प्रदेश मन्त्रिपरिषद् यस्तो छ :

पुनर्गठित मन्त्रिपरिषद्को मुख्यमन्त्रीमा सतीश कुमार सिंह, गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, भौतिक पूर्वाधार मन्त्री सरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह, अर्थ मन्त्री सुनिल यादव, खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल, उर्जा, सिँचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव, श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुमार कुशवाहा र वन तथा वातावरण मन्त्री सञ्जय कुमार यादव छन् ।

प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार २३:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !