प्रदेश अर्थतन्त्र सुदृढीकरणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री सिंह

प्रदेश अर्थतन्त्र सुदृढीकरणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री सिंह
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ ७, बुधबार २०:२६
प्रदेश अर्थतन्त्र सुदृढीकरणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकार कृषि विकासमार्फत आर्थिक समृद्धिको मार्गमा अग्रसर रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशद्वारा जनकपुरधाममा आयोजित अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले कृषि विद्युतीकरण र सिँचाइ व्यवस्थापनका लागि स्थानीय तहलाई अनुदान प्रदान गरिएको जानकारी दिए।

ADVERTISEMENT

मुख्यमन्त्री सिंहका अनुसार प्रदेशका अधिकांश स्थानीय तहहरू उक्त अनुदानको दायरामा परेका छन्। स्टार्टअप कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट परिचालन गर्न कार्यविधि तयार पारिए पनि बैंकहरूको असहयोगका कारण समस्या देखिएको भन्दै उनले आगामी आर्थिक वर्षमा वीरगन्जमा स्टार्टअप तथा इन्क्यूवेसन सेन्टर स्थापना गर्न बजेट विनियोजन गरिने बताए।

प्रदेश सरकार आर्थिक क्षेत्रमा नीतिगत स्पष्टता र सुशासनमार्फत सुधार ल्याउन प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले भने, “राजस्व संकलनका विषयमा प्रदेश सरकारको हस्तक्षेप निष्प्रभावी देखिएको छ, यसलाई व्यवस्थित बनाउन संघ सरकारसँग संवाद गरिनेछ।”

कुखुरा तथा अण्डा उत्पादनमा आत्मनिर्भरता हासिल गर्न प्रदेश सरकारले सेतो अण्डाको आयातमा रोक लगाएको जानकारी दिँदै उनले भारतीय पर्यटकको सहज आवागमनका लागि भारतीय नम्बर प्लेट भएका सवारीसाधनको प्रवेश प्रक्रिया सरल बनाउनेतर्फ कदम चालिएको बताए।

वीरगन्जका दुई क्यासिनोले स्थानीय नागरिकलाई समस्यामा पारिरहेको भन्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकार नियमन गर्न खोज्दा ती क्यासिनोले सहयोग नगरेको गुनासो गरे। उनले भने, “क्यासिनोका कारण नेपाली नागरिकको घरबार गुमेको छ, यस्तो अवस्थामा बन्द गर्नुपरे पनि उद्योगी व्यवसायीले गुनासो गर्नुहुन्न।”

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले बजेटको प्राथमिकता र कार्यान्वयन प्रक्रियाको गति सुस्त भएको कारण मधेश प्रदेश अन्य प्रदेशको तुलनामा आर्थिक सूचकांकमा कमजोर देखिएको बताए। वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले स्थिर आर्थिक नीति, कानुनी संरचना र लगानी प्रोत्साहनमार्फत उद्योग व्यवसाय प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव, उद्योग तथा पर्यटन मन्त्री सकिल मियाँ, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहलगायत उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो। कार्यक्रममा आर्थिक अभियान दैनिकका ओमप्रसाद खनालले ‘मधेश समृद्धि शृंखला’ शीर्षक कार्यपत्र प्रस्तुत गरेका थिए, जसमा प्रादेशिक अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र अवसर समेटिएको थियो।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ७, बुधबार २०:२६

तपाईको प्रतिक्रिया !