सर्लाहीमा उखुबारीमा युवकको सडेको शव फेला, हत्या अभियोगमा ६ जना पक्राउ

सर्लाहीमा उखुबारीमा युवकको सडेको शव फेला, हत्या अभियोगमा ६ जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ६, मंगलवार ०८:३५
सर्लाहीमा उखुबारीमा युवकको सडेको शव फेला, हत्या अभियोगमा ६ जना पक्राउ

सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका–८ स्थित उखुबारीमा एक युवकको शव सडेको अवस्थामा फेला परेको छ। शव चन्द्रनगर गाउँपालिका–१ किसनपुर निवासी २८ वर्षीय अरविन्द कुमार पण्डितको भएको पुष्टि उनका दाजु अशोक कुमारले गरेका छन्।

वैशाख २४ गतेदेखि बेपत्ता रहेका अरविन्दको हत्या गरेको आरोपमा प्रहरीले ईश्वरपुर नगरपालिका–६ का ६ जनालाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार मलंगवामा पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएको हो।

ADVERTISEMENT

पक्राउ पर्नेहरूमा चिरानटोल निवासी ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, २९ वर्षीय मोस्तकिम अन्सारी, २५ वर्षीया नजिमा खातुन, ४० वर्षीय सुयब अन्सारी, २५ वर्षीय कोनुर आलम अन्सारी र ५४ वर्षीय सलाउद्दिन अन्सारी रहेका छन्।

मोस्तकिम अन्सारीले वैशाख २६ गते इलाका प्रहरी कार्यालयमा निवेदन दिँदै उनकी श्रीमती नजिमा खातुनलाई अरविन्द पण्डितले भगाएको उल्लेख गरेका थिए। नजिमा चैत १९ गते राति ११ बजे घरबाट बेपत्ता भएकी थिइन्।

प्रहरी अनुसन्धान अनुसार उनीहरू भारत पुगेका थिए र वैशाख १९–२० गते नेपाल फर्किएका थिए। फर्किएपछि स्थानीय समाज र पञ्चहरूको सहमतिमा नजिमा पुनः श्रीमान् मोस्तकिमसँग बस्न थालिन्। तर अरविन्द पुनः नजिमाको घर आसपास आउन थाल्दा स्थानीयहरूबाट पनि शंका गर्न थालिएको थियो, जसले गर्दा नजिमा मानसिक तनावमा परेको बताइएको छ।

प्रहरीका अनुसार नजिमा र अन्य प्रतिवादीहरूले मिलेर अरविन्दको हत्या गर्ने योजना बनाएका थिए। वैशाख २८ गते बिहान ८ बजे नजिमाले अरविन्दलाई फूलजोर बाबा मन्दिरनजिक बोलाएकी थिइन्। त्यसपछि उनलाई फूलजोर खोलानजिक लगेकी थिइन् जहाँ अन्य प्रतिवादीहरूले पछ्याउँदै गइ हत्या गरेका थिए।

हत्या गरेर शवलाई सिसौको रूखमुनि घाँसपातले छोपिएको थियो। भोलिपल्ट वैशाख २९ गते राति ९ बजे घटना सार्वजनिक हुने डरले उनीहरूले शव ईश्वरपुर–८ स्थित थकरिया चौरीको उखुबारीमा लगेर फालेका थिए।

प्रहरीले जेठ २ गते सबै प्रतिवादीहरूलाई पक्राउ गरेको हो। अनुसन्धानको क्रममा मोहम्मद हुसेन मोमिनको खुट्टामा मृतकले लगाएको चप्पल भेटिएको पुष्टि मृतकका पिताले गरेका छन्।

पक्राउ परेकालाई सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई कर्तव्य ज्यान अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ६, मंगलवार ०८:३५

तपाईको प्रतिक्रिया !