जनकपुरमै घर भएका सांसदलाई पनि प्रदेशसभाबाट घरभाडा

जनकपुरमै घर भएका सांसदलाई पनि प्रदेशसभाबाट घरभाडा
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ५, सोमबार ११:२०
जनकपुरमै घर भएका सांसदलाई पनि प्रदेशसभाबाट घरभाडा

जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधाममै घर भएका सांसदहरूले पनि प्रदेशसभा सचिवालयबाट मासिक घरभाडा बुझ्दै आएका छन्। राजधानीमै बसोबास गर्ने सांसदले राज्यकोषबाट यस्तो सुविधा लिएकोप्रति आलोचना सुरु भएको छ।

२०७९ को प्रदेशसभा निर्वाचनमा धनुषा–३ ‘क’ बाट निर्वाचित नेपाली कांग्रेसका रामसरोज यादवको घर जनकपुरधामको क्याम्पस चोकमा छ। संसद भवनबाट करिब डेढ किलोमिटरको दूरीमा रहेको घरमा बसोबास गर्दै आएका उनले मासिक १५ हजार रुपैयाँ घरभाडा बुझ्दै आएका छन्। यादव प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हुन्।

ADVERTISEMENT

नेपाली कांग्रेसकै समानुपातिक सांसद अञ्जना पण्डित पनि जनकपुरधाममै दुईवटा घरकी धनी हुन्। तीमध्ये एक घरमा उनी आफैँ बस्छिन् भने अर्को भाडामा लगाएकी छन्। तर, उनले पनि प्रदेशसभा सचिवालयबाट मासिक १५ हजार रुपैयाँ घरभाडा बुझ्दै आएकी छन्।

नेकपा (एमाले) संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरको जनकपुरधाममा तीनवटा घर छन्। रामानन्द चोक र अग्निकुण्ड क्षेत्रमा रहेका ती घरहरूका बाबजुद उनले पनि प्रदेशसभा सचिवालयबाट मासिक १५ हजार रुपैयाँ लिँदै आएका छन्। ठाकुर धनुषा–३ ‘ख’ बाट सांसद बनेका हुन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट महोत्तरी–२ ‘ख’ बाट निर्वाचित सांसद सुरिता साहको घर जनकपुरधामको भ्रमरपुरा चोकमा छ। स्थानीयले ‘आलिशान महल’ भन्ने साहको घर केही समयअगाडि राजर्षि जनक विश्वविद्यालयलाई भाडामा दिइएको थियो। साह जसपा नेपालकी कोषाध्यक्ष र पूर्वमन्त्री हुन्। उनी पनि मासिक १५ हजार रुपैयाँ घरभाडा बुझ्दै आएकी छन्।

जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादव जनकपुरधामको भानु चोक र सीता चोकको बीचमा बसोबास गर्छन्। तर, उनले पनि मासिक २० हजार रुपैयाँ घरभाडा लिँदै आएका छन्। यादव धनुषा–२ ‘ख’ बाट सांसद निर्वाचित भएका हुन्।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का समानुपातिक सांसद रत्नेश्वर गोइत यादव जनकपुरधाम उपमहानगरपालिकामा बसोबास गर्छन्। उनी प्रदेश मामिला समितिका सभापति हुन्। सचिवालयका अनुसार उनले मासिक १८ हजार रुपैयाँ घरभाडा बुझ्दै आएका छन्।

प्रदेशसभा सचिवालयका प्रवक्ता विपिन ठाकुरका अनुसार, ‘प्रदेशसभा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन’ मा तोकिएअनुसार सबै सांसदलाई मासिक घरभाडा दिइन्छ। सचिवालयका अनुसार, सांसदलाई १५ हजार, सचेतकलाई १६ हजार, प्रमुख सचेतक र संसदीय समिति सभापतिलाई १८ हजार र उपसभामुख तथा विपक्षी दलका नेताहरूलाई २० हजार रुपैयाँसम्मको घरभाडा दिने व्यवस्था छ।

सांसदहरूमाथि नैतिकताको प्रश्न

राजधानीमै घर भएका सांसदहरूबाट घरभाडा सुविधा लिने क्रम बढिरहँदा यसले राजनीतिक र नैतिक प्रश्नहरू खडा गरेको छ। अर्थशास्त्री तथा राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा भन्छन्, “प्रदेश सभाका कोही पदाधिकारीले घर मर्मतबापत केही रकम लिनुहुन्छ भने ठीक होला, तर घरभाडा लिनु कानूनी र नैतिक दुवै दृष्टिले अनुचित हो।”

राजनीतिक विश्लेषक रोशन जनकपुरीको ठम्याइमा, “राजधानीमै रहेर खर्च लिनु अनैतिक मात्र होइन, गैरकानूनी पनि हो। सांसदहरू जनताको हितभन्दा व्यक्तिगत लाभमा केन्द्रित भएका छन्।”

पहिलो प्रदेशसभा कार्यकालका सांसदमध्ये केवल किशोरी साह कमलले मात्रै घरभाडा सुविधा अस्वीकार गरेका थिए। बाँकी सबै सांसदले यो सुविधा लिएका थिए।

सांसदहरू भने यसलाई कानूनी व्यवस्था भएको दाबी गर्छन्। प्रमुख सचेतक रामआशिष यादव भन्छन्, “ऐनमा राजधानीमै घर भएकाले लिन नपाउने उल्लेख छैन। व्यवस्था अनुसार लिइएको सुविधा अनुचित हुँदैन।”

नियमित अधिवेशन नहुँदा पनि सुविधा यथावत्

प्रदेशसभाको अधिवेशन नियमित रूपमा नचल्ने भएकाले धेरै सांसद अधिवेशनका क्रममा घरबाटै ओहोरदोहोर गर्छन्। जनकपुरमा घर नभएकामध्ये थोरैले मात्रै डेरा लिएका छन्। तर, सबै सांसदले घरभाडा सुविधा लिने गरेका छन्।

मधेश प्रदेशसभामा हाल १०७ सांसद छन्। तीमध्ये १२ जना—मुख्यमन्त्री, मन्त्री र उपसभामुखलाई सचिवालयले निवास सुविधा उपलब्ध गराएको छ। बाँकी सांसदलाई भने घरभाडा बापतको रकम दिइएको सचिवालयको भनाइ छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ५, सोमबार ११:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !