भाजपा नेता विजय जोली र जनमतका शिर्ष नेताबीच भेटवार्ता

भाजपा नेता विजय जोली र जनमतका शिर्ष नेताबीच भेटवार्ता
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ ५, सोमबार १०:२२
भाजपा नेता विजय जोली र जनमतका शिर्ष नेताबीच भेटवार्ता

जनकपुरधाम : भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता डा. विजय जोली र जनमत पार्टीका शीर्ष नेताबीच आइतबार काठमाडौंमा भेटवार्ता भएको छ।

भेटमा जनमत पार्टीका संगठन विभाग प्रमुख डा. जयकान्त राउत, महासचिव चन्दन सिंह र प्रवक्ता डा. शरदसिंह यादव सहभागी थिए।

ADVERTISEMENT

जनमत प्रवक्ता डा. यादवका अनुसार भेटमा नेपाल–भारत सम्बन्ध र दुई दलबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो। साथै, नेपालको राजनीतिक स्थायित्व, विकास, र सूचना प्रविधिमा नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने विषयमा भारतको सहयोग आवश्यक रहेको धारणा पनि व्यक्त गरिएको थियो।

“भारतमा जस्तै नेपालमा पनि जबसम्म राजनीतिक स्थायित्व हुँदैन, तबसम्म दिगो विकास सम्भव हुँदैन भन्ने विषयमा हामीले चर्चा गर्‍यौं,” प्रवक्ता यादवले मधेशपत्रसँग भने, “छलफल सकारात्मक भयो।”

डा.यादवका अनुसार डा. जोलीले भारत नेपालकै साथमा रहेको र विकास र स्थायित्वमा भारत सधैं सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए।

भेटको सुरुआतमा प्रवक्ता डा. यादवले गत २२ अप्रिलमा जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा परेर एक नेपाली नागरिकसहित २८ जनाको मृत्युप्रति समवेदना व्यक्त गरेका थिए।

“नेपाल बुद्धको देश हो, सधैं शान्तिको पक्षमा छौं भन्ने कुरा राख्दा उहाँले सहर्ष धन्यवाद दिनुभयो,” प्रवक्ता डा. यादवले भने।

भारत सरकारले पहलगाम हमलाको जिम्मा लिएको आतङ्ककारी समूहविरुद्ध ‘अपरेशन सिन्दूर’ नामक कारबाही गरिसकेको छ। नेपालले यसमा भारतको पक्षमा स्पष्ट समर्थन जनाएको थियो। डा. जोली उक्त कारबाहीप्रति समर्थन जनाएबापत नेपाललाई ‘धन्यवाद सन्देश’ लिएर आएको बताइएको छ।

‘अपरेशन सिन्दूर’भन्दा केही अघिमात्र भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले पनि नेपाल भ्रमणमा आएका थिए।

प्रकाशित मिति: २०८२ जेष्ठ ५, सोमबार १०:२२

तपाईको प्रतिक्रिया !