पुर्ख्यौली जमिनमा कानुनी अधिकार : मिथिलाका ६४ घरपरिवारमा खुसी

पुर्ख्यौली जमिनमा कानुनी अधिकार : मिथिलाका ६४ घरपरिवारमा खुसी
विजयकुमार साह विजयकुमार साह २०८२ जेष्ठ ३, शनिबार १५:०२
पुर्ख्यौली जमिनमा कानुनी अधिकार : मिथिलाका ६४ घरपरिवारमा खुसी

ढल्केवर : लामो समयदेखि सुकुम्बासी जीवन बिताउँदै आएका मिथिला नगरपालिकाका ६४ घरपरिवारले आफ्नो पुर्खौली जमिनमा कानुनी स्वामित्व ग्रहण गरेका छन्। शनिबार ढल्केबरमा आयोजित विशेष समारोहमा ती परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो।

साबिक ढल्केबर गाविस–१ देखि ९ सम्म र हालको मिथिला नगरपालिका–१, ६ र ७ नम्बर वडामा पुस्तौंदेखि बसोबास गर्दै आएका ती परिवारलाई लालपुर्जा प्रदान गरिएको नगरप्रमुख महेन्द्र महतोले जानकारी दिए। उनका अनुसार नापी कार्यालय धनुषाको टोलीले गाउँब्लक क्षेत्रको नापजाँच गरी आवश्यक प्रक्रिया पूरा गरेपछि प्रमाण–पत्र वितरण गरिएको हो।

ADVERTISEMENT

महतोले आफ्नो कार्यकालको सुरुवातदेखि नै गाउँब्लकमा बसोबास गरिरहेका भूमिहीन परिवारको विवरण संकलन गरी लालपुर्जा वितरण गर्ने अभियान संचालन गरिएको बताए। उनले लालपुर्जा वितरणसँगै ती परिवारको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरे।

सो अवसरमा भूमि समस्या समाधान आयोग धनुषाका अध्यक्ष सुरेश कोइरालाले लालपुर्जा वितरणको प्रक्रियामा राजनीतिक हस्तक्षेप नगर्न आग्रह गरे। उनले अझै पनि प्रमाण–पत्र पाउन बाँकी रहेका वास्तविक भूमिहीन तथा पीडितलाई चाँडै प्रक्रिया टुंग्याएर लालपुर्जा दिन सम्बन्धित निकायलाई आग्रह गरे।

वडा नं. ६ का वडाध्यक्ष नन्दकिशोर यादवले पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिनमा कानुनी अधिकार दिलाउन प्रशासनिक तथा स्थानीय तहका कर्मचारीले गरेको प्रयास सफल भएको बताए। लालपुर्जा पाएपछि स्थानीयवासीहरूले आफ्नो पुर्ख्यौली सम्पत्तिमा कानुनी स्वामित्व पाएर खुसी व्यक्त गरेका छन्।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, विभिन्न वडाका जनप्रतिनिधि, नापी कार्यालयका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार १५:०२

तपाईको प्रतिक्रिया !