तेनुवापट्टीमा सांसद संजयले समुदायिक भवन बनाउँदै

तेनुवापट्टीमा सांसद संजयले समुदायिक भवन बनाउँदै
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २, शुक्रबार १९:३७
तेनुवापट्टीमा सांसद संजयले समुदायिक भवन बनाउँदै

चतुरानन्द यादव,सिरहा : सिरहाको बरयारपट्टी गाउँपालिका–४ तेनुवापट्टीमा निर्माण हुन लागेको आधुनिक सामुदायिक भवनको शिलान्यास गरिएको छ।

शुक्रबार मधेश प्रदेशसभा सदस्य तथा पूर्व कृषि राज्यमन्त्री संजय कुमार यादवले उक्त भवनको शिलान्यास गरेका हुन् ।

ADVERTISEMENT

२५ लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त भवन मधेस प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास मन्त्रालय र पूर्वाधार विकास कार्यालय, सिरहाको सहयोगमा निर्माण हुँदैछ। सांसद संजय कुमार यादवको पहलमा यो योजना अघि बढाइएको हो।

भवन निर्माण कार्य उपभोक्ता समितिमार्फत सञ्चालन हुनेछ। समितिका अध्यक्ष बिलटु यादवका अनुसार, “समिति गठन, कार्यालयसँग सम्झौता र कार्यादेश प्राप्त भइसकेको छ। हामी चाँडै निर्माण कार्य सुरु गर्दैछौं।”

योजना अन्तर्गत तेनुवापट्टीमा निर्माण गरिने सामुदायिक भवनले गाउँको सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिहरूलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। सभा, छलफल, तालिम, शिक्षा कार्यक्रम, स्वास्थ्य शिविर तथा सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि यो भवन एक महत्वपूर्ण केन्द्र बन्नेछ। साथै, विपद्को समयमा राहत वितरण केन्द्रको रूपमा समेत भवनको प्रयोग गर्न सकिनेछ।

नेता प्रदीप यादवको सक्रियतामा सुरु गरिएको यस योजनाले गाउँमा सामाजिक एकता, सहकार्य र जनसंलग्नता बढाउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्। “समुदायलाई विकासको मूल प्रवाहमा जोड्नका लागि यो भवन एक सशक्त माध्यम बन्नेछ,” प्रदीप यादवले बताए।

स्थानिय युवा, महिलाहरू तथा नागरिक समाजले सामुदायिक भवन निर्माणलाई सकारात्मक रूपमा स्वागत गर्दै यसले दीर्घकालीन सामाजिक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

हाल निर्माण कार्य सुरु भइसकेको छ र छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको छ।

उक्त शिलान्यास कार्यक्रममा बरयारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममता देवी यादव, वडा नं. ४ का वडा अध्यक्ष नविन यादव, जनमत पार्टीका जिल्ला सदस्य तथा युवा नेता प्रदीप यादव, साथै स्थानीय बुद्धिजीवी, पत्रकार, युवा तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ जेष्ठ २, शुक्रबार १९:३७

तपाईको प्रतिक्रिया !