सिम्रौनगढ मेयरका सरकारी स्कार्पियो रौतहटमा दुर्घटनाग्रस्त

सिम्रौनगढ मेयरका सरकारी स्कार्पियो रौतहटमा दुर्घटनाग्रस्त
मधेशपत्र मधेशपत्र २०८२ बैशाख ३१, बुधबार १९:१९
सिम्रौनगढ मेयरका सरकारी स्कार्पियो रौतहटमा दुर्घटनाग्रस्त

जनकपुरधाम : बाराको सिम्रौनगढ नगरपालिकाका मेयरका लागि प्रयोग हुने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटनामा परेको छ। दुर्घटनामा गाडी पूर्णरूपमा क्षति भएको छ भने चालक सामान्यरूपमा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार बा २ झ ४३५४ नम्बरको स्कार्पियो गाडी रौतहटको चन्द्रनिगाहपुरबाट कटहरिया हुँदै सिम्रौनगढतर्फ जाँदै गर्दा देवाही गोनाही नगरपालिका–५ नारायणचोकदेखि करिब २०० मिटर उत्तरतर्फ अनियन्त्रित भई दुर्घटनामा परेको हो।

ADVERTISEMENT

गाडी सिम्रौनगढ नगरपालिका -१ बैरिया निवासी ४० वर्षीय चालक मुस्तुफा आलमले चलाएका थिए। उनी सामान्य चोटपटकसहित सकुशल रहेको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय, देवाही गोनाहीबाट असई अर्जुन मण्डलको कमाण्डमा टोली खटिएको थियो। प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाका बेला गाडीमा मेयर किशोरी प्रसाद कलवार सवार नरहेको पुष्टि भएको छ।

यस दुर्घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ बैशाख ३१, बुधबार १९:१९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !