आजको युग सूचना तथा सञ्चार प्रविधिको हो : मुख्यमन्त्री सिंह

आजको युग सूचना तथा सञ्चार प्रविधिको हो : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८२ बैशाख ३१, बुधबार १८:२४
आजको युग सूचना तथा सञ्चार प्रविधिको हो : मुख्यमन्त्री सिंह

महोत्तरी : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वर्तमान युगलाई सूचना तथा सञ्चार प्रविधिको युग बताएका छन्।

बुधबार बर्दिवासस्थित होटल नाभ्यामा सम्पन्न ‘डिजिटल मधेश कन्क्लेभ – २०२५’ को उद्घाटन गर्दै उनले विज्ञान र प्रविधि आधुनिक युगको अनिवार्य आवश्यकता भएको बताएका हुन्।

ADVERTISEMENT

मुख्यमन्त्री सिंहले प्रविधिको प्रभावकारी प्रयोगमार्फत अनुसन्धान, नवप्रवर्तन र व्यवसायमा आधारित विकासलाई अघि बढाउन सकिने बताए। विज्ञान तथा प्रविधिले समाजमा सकारात्मक रूपान्तरण ल्याउने भन्दै उनले सरकार र निजी क्षेत्रको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले नेपाललाई आर्थिक समृद्धिको दिशामा लैजान विज्ञान र प्रविधिको योगदान निर्णायक हुने धारणा राखे। मन्त्री लेखीले वैज्ञानिक सोच, दक्ष जनशक्ति, प्रविधि र पुँजीको संयोजनमार्फत मधेस प्रदेशमा छोटो समयमा महत्वपूर्ण परिवर्तन सम्भव रहेको उल्लेख गरे।

उनले आधुनिक उपकरणको प्रयोग, जैविक प्रविधिको संरक्षण तथा वैकल्पिक ऊर्जाको विकासलाई आर्थिक समृद्धिको मेरुदण्डका रूपमा चित्रण गरे। साथै, सुशासन, दिगो विकास र गरिबी न्यूनीकरणका लक्ष्यहरू हासिल गर्न सरकारको तर्फबाट यस्ता कार्यक्रमलाई पूर्णरूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए।

‘फोस्टरिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ भन्ने मुख्य थिममा आधारित उक्त सम्मेलन गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजना तथा आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेस प्रदेशको सहकार्यमा सम्पन्न भएको हो।

कन्क्लेभमा मधेस प्रदेशको डिजिटल अवस्था, सम्भावना, अवसर र चुनौतीका विषयमा विस्तृत छलफल र अन्तरक्रिया गरिएको थियो। विभिन्न सेसनहरूमा विज्ञ वक्ताहरूले डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, कृत्रिम बुद्धिमत्ता (एआइ) तथा डेटा सुरक्षा, स्टार्टअप र नवप्रवर्तन इकोसिस्टम, आइसिटी नीति र डिजिटल शासनलगायत विषयमा प्रस्तुति दिएका थिए।

प्रविधि क्षेत्रमा सक्रिय सरकारी तथा निजी क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको यो पहिलो सम्मेलनले आउँदो आर्थिक वर्षका लागि नीति तथा बजेट निर्माणमा डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्न मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ बैशाख ३१, बुधबार १८:२४

तपाईको प्रतिक्रिया !