जनमत पार्टीको दाबी: घरको लागि लिएको ऋणको ५५ लाखभन्दा बढी किस्ता पार्टीले तिर्‍यो

जनमत पार्टीको दाबी: घरको लागि लिएको ऋणको ५५ लाखभन्दा बढी किस्ता पार्टीले तिर्‍यो
मधेशपत्र मधेशपत्र २०८२ बैशाख ३०, मंगलवार १८:५५
जनमत पार्टीको दाबी: घरको लागि लिएको ऋणको ५५ लाखभन्दा बढी किस्ता पार्टीले तिर्‍यो

काठमाडौं : जनमत पार्टीको केन्द्रीय सचिवालयले केही मिडियामा पार्टी र पार्टीका अध्यक्ष डा. सीके राउतको चरित्र हत्या हुने गरी प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ। पार्टीले विशेषगरी ‘रातोपाटी’मा प्रकाशित समाचारहरू पूर्वाग्रहपूर्ण, अपुष्ट र अर्धसत्य भएको दाबी गर्दै ती सामग्रीहरू पार्टीलाई बदनाम गर्न लेखिएको आरोप लगाएको छ।

पार्टीका अनुसार २०७९ सालको निर्वाचनपछि डा. राउत काठमाडौं बस्न थालेपछि पार्टीका माननीयहरूले पार्टीको लागि घर किन्न आर्थिक सहयोग गरेका थिए।

ADVERTISEMENT

Oplus_131072

 

उक्त रकम पार्टीका तत्कालीन कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादवको खातामा जम्मा गरिएको थियो। पार्टीको दाबी अनुसार सो घर अहिले कोषाध्यक्ष यादवकी श्रीमती ललिता यादवको नाममा नामसारी गरिएको छ भने त्यसका लागि लिइएको ऋणको किस्ता जनमत पार्टीकै आधिकारिक खाताबाट तिरिँदै आएको छ। अहिलेसम्म पार्टीले सो ऋण अन्तर्गत ५५ लाख रुपैयाँभन्दा बढी तिरेको दाबी गरिएको छ।

पार्टीले स्पष्ट पारे अनुसार न त डा. राउत वा उनको परिवारको नाममा उक्त घर छ, न त उनले कहिल्यै त्यसलाई आफ्नो बनाउन खोजेका छन्। उल्टो उनले उक्त घर पार्टीकै हुनुपर्ने स्पष्ट अडान लिँदै त्यसको हस्तान्तरण माग गर्दै आएका छन्।

जनमत पार्टीका अनुसार कोषाध्यक्ष यादवले सांसद बन्ने वा मन्त्री पदको माग गर्दै पार्टीमा निरन्तर दबाब दिँदै आएका थिए। पार्टीले सो मागहरू पूरा नगरेपछि यादव पार्टी विरोधी गतिविधिमा संलग्न भएको र अन्ततः संगठनको काम छोडेर विदेश गएकाले उनलाई निलम्बन गरिएको जनाएको छ।

साथै, पार्टीले रातोपाटी लगायतका मिडियालाई अदालत र प्रहरीमा रहेका दस्तावेज अध्ययन नगरी एकपक्षीय समाचार प्रकाशन नगर्न अनुरोध गरेको छ। पार्टीको अनुसार हाल घरको स्वामित्वसम्बन्धी विवाद प्रहरी र अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

पार्टीले आफ्नो अक्षय कोषसम्बन्धी अनियमितता नभएको भन्दै सो खातामा जम्मा भएको रकम निकै थोरै रहेको र खाताको वार्षिक अडिट समेत गरिने जानकारी दिएको छ। सो खाताका सह-खातासंचालक भने निलम्बित उपाध्यक्ष दीपक कुमार साह रहेको उल्लेख गरिएको छ।

जनमतका अध्यक्ष डा.राउतले समाजिक संजालमा लेख्छन् –

रातोपाटी सहितका मिडियामा पटक-पटक जनमत पार्टी र सो पार्टीका राष्ट्रिय अध्यक्षको चरित्र हत्या हुने गरी पूर्वाग्रहपूर्ण र आधाअधूरो जानकारी राख्दै समाचार लेख्दै आएको विषयमा पार्टीको ध्यानाकर्षण भएको छ।

समाचारको विषयमा स्पष्टीकरण

२०७९ को निर्वाचन पछि राष्ट्रिय अध्यक्ष जनकपुरबाट सरेर काठमाडौंमा नै बस्नु पर्ने भएकोले कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादवलाई पार्टीको लागि घर किन्न जनमत पार्टीका माननीयहरूले सहयोग रकम (करीब डेढ करोड़) उपलब्ध गराएका थिए (सूची हेर्नुस्)। अधिकांश माननीयज्यूहरूले बैंकबाट ऋण लिएर, ई. सुरेन्द्र नारायण यादवको खातामा डिपोजिट गरेका थिए; माननीयज्यूहरूले डिपोजिटको रसीद वा स्टेटमेंट पनि प्रहरी/अदालतलाई उपलब्ध गराउनु भएको छ। सो घरमा निर्माण पूर्णत: सम्पन्न हुनु अगाडि र घर औपचारिक नामसारी गर्नु अगाडिदेखि नै डा. सी. के. राउत सपरिवार बस्दै आउनु भएको थियो र केही निर्माणकार्य आफ्नै रोहबरमा गराउनु भएको थियो। सो घर पार्टीको निर्देशन विपरीत कोषाध्यक्षले आफ्नै श्रीमती ललिता यादवको नाममा नामसारी गर्नु भएको थियो, घर किन्न बाँकी रकम गरिमा विकास बैंकबाट उहाँकै नाममा ऋण लिइएको थियो। सो ऋण वापत् जनमत पार्टीले शुरूदेखि अहिलेसम्म आफ्नो आधिकारीक बैंक खाता मार्फत् करीब २२ महिनाको मासिक किस्ता साढे दुई लाख तिर्दै आएको छ (अहिलेसम्म ५५ लाख बढी जनमत पार्टीले गरिमा विकास बैंकको ललिता यादवको खातामा तिरेको बैंक स्टेटमेंट छ)।

मिडियामा आए जस्तो न त इमाडोलको घर डा. सी. के. राउत वा उहाँको परिवार नातागोताको नाममा छ, न त उहाँले आफ्नो वा परिवारको नाममा घर हस्तान्तरण गर्न भन्नु भएको हो। उहाँले पार्टीको लागि खरीद गरिएको घर पार्टीको नै हुनु पर्ने, बेइमानी गरेर निजी बनाउन नपाइने भनेर अडान लिँदै सो घर पार्टीलाई हस्तान्तरण गर्न भन्दै आउनु भएको थियो। तर मिडियामा उहाँकै चरित्र हत्या पटक पटक गरिँदै आएको छ। वर्ष दिन देखि पार्टीको सम्पत्ति हस्तान्तरण गर्न कोषाध्यक्षलाई पटक पटक सम्झाउँदा बुझाउँदा पनि नमाने पछि केन्द्रीय सचिवालयले कानूनी उपाय अपनाउने निर्णय गरे पश्चात् पार्टी प्रहरीमा जान बाध्य भएको हो।

सो घर डा. सी. के. राउतलाई भाडामा दिएको बारेमा डा. सी. के. राउतलाई ललितपुर जिल्ला अदालतबाट एउटा मुद्दा दायर गर्न गत भदौमा अस्थायी बसोबासको प्रमाणपत्र आवश्यक पर्दा र आफू बस्ने घर पार्टीको भए तापनि हालमा कोषाध्यक्षकी श्रीमती ललिता यादवको नाममा रहेकोले भदौमा सो प्रयोजनको लागि मात्रै बनाइएको हो। त्यसको सबै प्रमाण अदालतमा पेश गरिएको छ। (हुन त भाडामा बस्नु र घर पार्टीको हो कि सुरेन्द्र् नारायण यादवको हो भन्ने विषय अलग हुन्)

निर्वाचन पछि ई. सुरेन्द्र नारायण यादवले आफूल सांसद बन्न नपाएको असन्तुष्टि थियो भने सांसदै नभए पनि उहाँले ६ महिनाको लागि जसरी पनि मन्त्री बनाउन अडान लिँदै आएको थियो। पार्टीले उहाँको सो माग पूरा गर्न नसक्दा उहाँ पार्टी विपरीत गतिविधि गर्दै आउनु भएको थियो। उहाँ राष्ट्रिय कोषाध्यक्षको जिम्मेबारीमा रहँदा रहँदै संगठनको कामकाज छोडेर कतारमा गएर बसिदिनु भएको थियो र त्यहाँ पनि संगठनमा भाँडभैलो मचाउँदै आउनु भएको थियो।

कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादवलाई विगत एक वर्षदेखि नै पार्टीको घर हस्तान्तरण गर्न पटक पटक अनुरोध गर्दै आएको थियो, पटक पटक सम्झाइबुझाइ गरिँदै आएको थियो, तर उहाँले कतारमा गएर बसिदिने, उलटा धमकी दिने, अपशब्द प्रयोग गर्ने र पार्टीको रकमबाट खरीद गरेको घर पार्टीलाई हस्तान्तरण गर्न नमानेर बेइमानी गर्न खोजे पछि सबै प्रमाण, बैंक भाउचर, स्टेटमेंट सहित प्रहरीमा ऊजुरी दिएर कारबाहीको प्रक्रिया अघि बढेको हो, कसैको विरोध गरेको भएर होइन। कृपया ललितपुर प्रहरी परिसर वा ललितपुर जिल्ला अदालतमा रहेको मुद्दाको मिशिल अध्ययन गरेर तथ्यगत समाचार लेख्नुहुन अनुरोध छ। (ऊजुरी पत्र यही संलग्न छ, प्रमाण अदालत वा प्रहरीमा गएर बुझ्न सक्नुहुन्छ)

कोषाध्यक्षको नाम समानुपातिक सूचीको ७ औं नम्बरमा रहेकोले र हालको मतले ५ जना मात्रै समानुपातिक सांसद बन्न सक्ने भएकोले उहाँ सांसद नबन्नु भएको हो। समानुपातिको सूची पहिला तैयार हुने भएकोले समानुपातिकको सूचीमा नाम हुनेले प्रत्यक्षको टिकट पाउने कुरै हुँदैन, त्यही भएर उहाँले टिकट नपाएको भन्ने कुरा पार्टीलाई बदनाम गर्ने, अरूको खुट्टा तान्ने प्रवृत्तिले अभिप्रेरित मात्रै भएको हो। योजना आयोगको सदस्यमा समेत उहाँकै नाम पहिला सिफारिश गरिएको थियो र उहाँ आफैं जानु भएको थियो तर उहाँसँग ब्याचलर्स डिग्री मात्रै हुँदा न्यूनतम योग्यता नपुगे पछि मात्रै अरूलाई पठाइएको हो। (तत्कालीन् कोषाध्यक्षको हस्ताक्षर समेत रहेको केन्द्रीय सचिवालय समितिको २०८० आषाढ ३१ – श्रावण १ गतेको बैठकको माइन्यूट समेत हेर्न आग्रह)

सो पश्चात् उहाँले अहिलेसम्म मलाई सांसदै नभए पनि ६ महिनाका लागि मन्त्री बनाइ दिनु पर्यो भनेर पार्टीसँग नाजायज माग राख्दै आउनु भएको छ। पछिल्लो समयमा कोषाध्यक्षले आफ्नी श्रीमती ललिता यादवको राजनैतिक नियुक्तिको लागि बारगेनिंग गर्दै हुनुहुन्थ्यो र उहाँलाई मधेश प्रदेश नीति आयोगको सदस्य केही दिन अगाडि तोकिएको छ। केही दिन अगाडि सम्म पनि ई. सुरेन्द्र नारायण यादवले २०८४ मा सांसद् र मन्त्री बनाए पछि मात्रै म पार्टीको नाममा घर हस्तान्तरण गर्छु भनेर भन्दै आउनु भएको थियो।

-जनमत पार्टीको सचिवालय

प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलवार १८:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !