मधेशको इतिहास स्कुल कलेजमा पढाइनु पर्छ : बीपी साह

मधेशको इतिहास स्कुल कलेजमा पढाइनु पर्छ : बीपी साह
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २४, बुधबार २०:०९
मधेशको इतिहास स्कुल कलेजमा पढाइनु पर्छ : बीपी साह

जनकपुरधाम : मधेश प्रदेशका स्कुल र कलेजहरुमा मधेशको इतिहास पढाउने व्यवस्था मिलाउन जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहले माग गरेका छन् ।

मधेश प्रदेश सरकारले बनाउन लागेको प्रदेश सरकारको नीति तथा कार्यक्रममार्फत विद्यालय र कलेजका विद्यार्थीहरुलाई मधेशको इतिहास पढाउने व्यवस्था मिलाउन बजेट बिनियोजन गर्न नेता साहले सरकारसँग आग्रह गरेका हुन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा विद्यार्थी जनमत संघ धनुषाद्धारा आयोजित भेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले भने,‘मधेशका युवा पुस्तालाई आफ्नै इतिहास थाहा नभएर कहिलेकाँही हिनताबोध हुने गरेको छ । मधेशी युवा विद्यार्थीहरुलाई आफ्नो गौरबमय इतिहास बुझाउन आजको आवश्यकता छ ।’

‘म मधेश प्रदेश सरकारलाई आग्रह गर्दछु, आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत मधेश प्रदेशका सबै विद्यालय र कलेजहरुमा मधेशको इतिहास बढाउने व्यवस्था मिलाउनुस् । तत्कालै पाठ्यक्रममा हाल्न नसकिएपनि बैकल्पिक व्यवस्था अथवा प्रशिक्षणमार्फत विद्यार्थीहरुलाई मधेशको इतिहास बुझाउन जरुरी छ ।’

नेता साहले भने,‘मधेशी पहिचानकै आधारमा विभेद हुने क्रम रोकिएको छैन । हाम्रो युवा पुस्ताले बैचारिक र एतिहासिक तर्कसहित प्रतिवाद गर्नसकेको छैन । त्यसकारण मधेशी युवाहरुले आफ्नै पहिचान बुझ्न जरुरी छ ।’

नेता साहले संघीयता र लोकतन्त्रका विषयमा पनि मधेशी विद्यार्थीहरुलाई थाहा हुनु पर्ने बताए ।

‘संघीयतालाई बदनाम गराउने षड्यन्त्रमा हाम्रा युवा पुस्ता पनि फसेका छन् । ५ लाख बजेट पाउन पनि हाम्रा बुवाबाजेले काठमाडौंमा नेता मन्त्रीको शरणमा पुग्नु पर्ने अवस्था थियो । आफ्नो गाउँ समाजमा बाटोघाटो वा अन्य विकास निर्माण गर्न मधेशबाट बासमती चामल र माछा बोकेर काठमाडौंका शासकहरुको चाकडी गर्नु पर्ने अवस्था थियो ।’

नेता साहले भने,‘संघीयता आएपछि पाँच लाख मात्रै होइन करोडौंको योजनाहरु प्रदेशबाट निर्माण भइरहेको छ । बल्ल जनताले सरकारको अनुभुती गर्न पाएका छन् । त्यसकारण संघीयतालाई थप बलियो बनाउँदै लग्नु पर्छ ।’

विभिन्न सामाजिक सञ्जालमा कतिपय मधेशी युवाहरु पनि राजावादी आन्दोलनलाई समर्थन गरेको भन्दै उनले आक्रोस व्यक्त गरे । ‘हो, हामी नेताहरु चोर नै भयौं रे । तर, यही लोकतान्त्रिक व्यवस्थाले हामीलाई चोर नेता परिवर्तन गर्ने मौका दिन्छ । पाँच वर्षमा नेता परिवर्तन गर्न सक्छौं । तपाई युवाहरु राजनीतिमा आउनुस् । हामी चोर नेताहरुलाई लखेट्नुस् । तर राजतन्त्रमा स्थायी चोर ल्याउने भ्रम नपाल्नुस् ।’

नेता साहले भने,‘राजतन्त्रमा के कस्तो अवस्था थियो त्यसबारे आफुभन्दा अग्रजहरुसँग सोध्नुस् । बोलेको भरमा थुनिन्थ्यो । अपहरण, बलात्कार, चोरी जस्ता कुकृत्यको लाइसेन्स दरबारसँग हुन्थ्यो । के हामी फेरी त्यही फर्किन खोजेको हो ?’

अहिले जनमत पार्टी र मधेश प्रदेश सरकारको आलोचना भइरहेको भन्दै पार्टी र सरकारको सकारात्मक कुराको प्रचारप्रसार गर्न विद्यार्थीहरु नेताहरुलाई साहले निर्देशन दिए । विद्यार्थी नेताहरुले नै अवको आन्दोलन हाँक्ने बताउँदै नेतृत्व लिनका लागि तयारी गर्नसमेत विद्यार्थीहरुलाई उनले आग्रह गरे ।

प्रकाशित मिति: २०८२ बैशाख २४, बुधबार २०:०९

तपाईको प्रतिक्रिया !