मधेशका मुख्यमन्त्री सिंहलाई नेकपा एसले ५२ बुँदे मागपत्र बुझायो

मधेशका मुख्यमन्त्री सिंहलाई नेकपा एसले ५२ बुँदे मागपत्र बुझायो
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १९, शुक्रबार २०:३१
मधेशका मुख्यमन्त्री सिंहलाई नेकपा एसले ५२ बुँदे मागपत्र बुझायो

जनकपुरधाम : मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रतिपक्षी नेकपा एकीकृत समाजवादीले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्नेसहितका ५२ बुँदे मागपत्र बुझाएको छ ।

नेकपा एस मधेश प्रदेशका पदाधिकारीहरु र सांसदहरु मधेश भवन पुगेर मुख्यमन्त्री सिंहलाई उक्त मागपत्र बुझाएका हुन् । मधेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन लागेका बेला नेकपा एसले मुख्यमन्त्रीलाई मागपत्र बुझाउँदै नीति तथा कार्यक्रममा समेट्नसमेत आग्रह गरेको छ ।

प्रदेश इन्चार्ज धर्मनाथ प्रसाद साहद्वारा हस्ताक्षरित मागपत्रको बुँदा नम्बर ३४ मा हालसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने उल्लेख छ । यस्तै भ्रष्टाचारसम्बन्धी विषय आकर्षित हुने अवस्थामा प्रदेश र स्थानीय तहको नीतिगत निर्णयको न्यायिक परीक्षण गर्नुपर्ने माग पनि समेटिएको छ ।

राष्ट्रसेवक कर्मचारी, शिक्षक र सुरक्षाकर्मीको सीप, क्षमताको विकास गरी सेवा सुविधालाई आकर्षक बनाउन पनि नेकपा एसले माग गरेको छ ।

मागपत्रका अधिकांश बुँदा विकास निर्माणसँग सम्बन्धित छ । जनकपुरधाममा निर्माणाधीन रंगशालाको निर्माण अविलम्ब पूरा गर्न, राजविराजमा स्थापित कृषि विश्वविद्यालयलाई आधुनिकीकरण गरी दक्ष जनशक्ति उत्पादन गर्न र एक घर एक स्वच्छ खानेपानी धाराको अवधारणाअनुसार सबै जनतालाई खानेपानीको प्रबन्ध गर्नुपर्नेसहितका माग पनि नेकपा एसले अगाडि सारेको छ ।

यस्तै प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता वा प्रदेशसभाको सदस्यको नेतृत्वमा गठन हुने प्रदेश मन्त्रिपरिषद्को मन्त्री गैरसांसद हुने व्यवस्था गर्नुपर्ने पनि नेकपा एसको माग छ ।

प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार २०:३१

तपाईको प्रतिक्रिया !