जनमत पार्टीद्वारा भारतको पहलगाम हमलाप्रति निन्दा

जनमत पार्टीद्वारा भारतको पहलगाम हमलाप्रति निन्दा
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १२, शुक्रबार ११:४२
जनमत पार्टीद्वारा भारतको पहलगाम हमलाप्रति निन्दा

काठमाडौं : भारतको जम्मु–कश्मीरको पहलगाम क्षेत्रमा अप्रिल २२ तारिखका दिन पर्यटकहरूमाथि भएको आतंकवादी हमलाले नेपालसहित सम्पूर्ण दक्षिण एसियालाई स्तब्ध बनाएको छ ।

आतंकवादी आक्रमणमा ज्यान गुमाउने २६ जनामध्ये नेपाली नागरिकसमेत परेका छन् । मृतकप्रति गहिरो समवेदना व्यक्त गर्दै जनमत पार्टीले यस्ता क्रूर कुकृत्यको घोर निन्दा गरेको छ ।

जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जम्मु–कश्मीरको पहलगाममा भएको आतंकी हमलाले सम्पूर्ण मानवता र सभ्यता माथि आघात पुर्याएको छ । निर्दोष पर्यटकहरूलाई लक्षित गरी गरिएको यस्तो अमानवीय क्रियाकलाप कुनै पनि सभ्य समाजमा स्वीकार्य हुन सक्दैन ।’

विज्ञप्तिमा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली नागरिकसहित सम्पूर्ण पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । डा. यादवले यस्ता घटनाले दक्षिण एशियाली मुलुकहरूबीचको सुरक्षा, सहकार्य र आतंकवाद विरुद्धको साझा रणनीतिमा थप बल पुर्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

पहलगामस्थित एक चर्चित पर्यटकीय स्थानमा पर्यटक सवार गाडीमाथि गोली प्रहार भएको थियो । प्रारम्भिक विवरणअनुसार आक्रमणकारीहरू पहाडी क्षेत्रबाट ओझेलको फाइदा उठाउँदै सवारी साधनमाथि अचानक आक्रमण गरेका थिए । यस घटनामा घाइते भएकाहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ भने केहीलाई एयरलिफ्ट गरेर श्रीनगरस्थित सैन्य अस्पताल पुर्याइएको छ ।

भारत सरकारले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । नेपाली दूतावास नयाँ दिल्लीमार्फत घटनाको विवरण संकलन गरिरहेको र पीडित नेपाली नागरिकहरूको पहिचानमा सहयोग गरिरहेको जनाएको छ ।

नेपाल सरकारले पनि घटनाप्रति शोक व्यक्त गर्दै आफ्ना नागरिकहरूको सकुशलताको सुनिश्चितताका लागि भारत सरकारसँग समन्वय गरिरहेको छ । विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘आतंकवादको कुनै धर्म, राष्ट्र वा मानवता हुँदैन । यस्ता कार्य विश्वव्यापी शान्ति र सुरक्षा माथिको चुनौती हुन् ।’

जनमत पार्टीले आफ्नो विज्ञप्तिमार्फत क्षेत्रीय सुरक्षा संयन्त्रलाई थप मजबुत बनाउने दिशामा नेपालले पनि सक्रिय भूमिका खेल्नुपर्ने कुरामा जोड दिएको छ । ‘शान्ति, सहिष्णुता र मानवताको पक्षमा उभिनु आजको अपरिहार्यता हो,’ डा. यादवले भनेका छन् ।

प्रकाशित मिति: २०८२ बैशाख १२, शुक्रबार ११:४२

तपाईको प्रतिक्रिया !