मधेश सरकारले जनकपुरधाममा आधुनिक शौचालय निर्माणको तयारी

मधेश सरकारले जनकपुरधाममा आधुनिक शौचालय निर्माणको तयारी
मधेशपत्र मधेशपत्र २०८१ चैत्र २१, बिहीबार १३:३७
मधेश सरकारले जनकपुरधाममा आधुनिक शौचालय निर्माणको तयारी

जनकपुरधाम : मधेश प्रदेश सरकारले जनकपुरधामको सौन्दर्यीकरणलाई बहुवर्षीय योजनाअन्तर्गत अघि बढाउँदै शौचालय निर्माणलाई विशेष प्राथमिकतामा राख्ने निर्णय गरेको छ । प्रदेश सरकारले जनकपुरधामका मुख्य पर्यटकीय क्षेत्रहरूमा आधुनिक सुविधायुक्त शौचालय निर्माण गर्ने घोषणा गरेको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंहले यस योजना अन्तर्गत तीनवटा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिने जानकारी दिए । यी शौचालयहरू बस पार्क, राम मन्दिरको दक्षिणपट्टि र जानकी मन्दिरको दक्षिण कुनामा निर्माण गरिनेछ ।

मुख्यमन्त्री सिंहका अनुसार यो योजना जनकपुरधाममा आउने पर्यटकहरूको सुविधाका लागि विशेषरूपमा बनाइएको हो । ‘जनकपुरधाम एक धार्मिक तथा सांस्कृतिक केन्द्र भएकोले यहाँ आउने भक्तजन र पर्यटकलाई सफा तथा व्यवस्थित सार्वजनिक शौचालयको आवश्यकता छ । हामीले यही आवश्यकतालाई मध्यनजर गर्दै यस योजनालाई अघि बढाएका हौँ,’ उनले भने ।

यस योजनाको लागि आवश्यक टेन्डर प्रक्रिया सुरु भइसकेको छ । यस कार्यको संयोजन मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह लगायत सरोकारवाला निकाय र मन्त्रालयका प्राविधिक टोलीले गरेका छन् । मुख्यमन्त्री सिंहले यो परियोजनालाई सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

यस योजनाका लागि तयार गरिएका आर्किटेक्चरल डिजाइनहरू सार्वजनिक गरिएका छन् । यी आधुनिक शौचालयहरूमा स्वच्छता, सहज पहुँच र वातावरणमैत्री संरचनाहरू रहनेछन् । प्रदेश सरकारले आगामी वर्षहरूमा अन्य क्षेत्रहरूमा पनि यस्ता सुविधाहरू विस्तार गर्ने योजना बनाइरहेको छ ।

जनकपुरधामको विकास र सौन्दर्यीकरणलाई अघि बढाउने यस कदमले स्वच्छता र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०८१ चैत्र २१, बिहीबार १३:३७

तपाईको प्रतिक्रिया !