मुख्यमन्त्री सिंहले गरे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन शिलान्यास

मुख्यमन्त्री सिंहले गरे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन शिलान्यास
मधेशपत्र मधेशपत्र २०८१ चैत्र १८, सोमबार १६:१३
मुख्यमन्त्री सिंहले गरे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन शिलान्यास

जनकपुरधाम : प्रतिष्ठानका कुलपति तथा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवनको सोमबार शिलान्यास गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर –१३ स्थित मणिमण्डप पछाडि रहेको गुठीको १८ बिघाभन्दा बढी जग्गामा निर्माण हुन लागेको यो भवन प्रतिष्ठानका लागि महत्वपूर्ण संरचना हुने बताइएको छ।

मुख्यमन्त्री सिंहले शिलान्यास समारोहमा बोल्दै भवन निर्माणका लागि २ करोड ५० लाख रुपैयाँको ठेक्का आह्वान भइसकेको जानकारी गराए। मुख्यमन्त्री सिंहले निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न गर्न जोड दिँदै ठेकेदारलाई समयमै काम सक्न निर्देशन दिए।

साथै,उनले निर्माण कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा ठेकेदारलाई प्रोत्साहन इन्सेन्टिभ दिइने र ढिलाइ भएमा जरिवाना पेनाल्टी लगाइने रणनीति रहेको उल्लेख गरे।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विनोद यादवका अनुसार प्रतिष्ठानको शैक्षिक भवनसहित अत्याधुनिक कक्षा कोठा, प्रयोगशाला र अस्पतालको संरचना निर्माण गर्ने योजना छ।

उनले भवन निर्माणपछि शैक्षिक गतिविधिमा सुधार आउने विश्वास व्यक्त गरे। साथै,अस्पतालको सेवासुविधा विस्तार हुने र यसले मधेश प्रदेशका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने धारणा राखे।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले कानुनी प्रक्रिया पूरा गरी भवन निर्माण हुन लागेको बताए। उनले सामाजिक हितका लागि निर्माण गरिने भवनले कुनै पनि समुदायलाई असर नगर्ने दाबी गर्दै भवनको दुवै छेउमा वैकल्पिक सडकको व्यवस्था मिलाइने उल्लेख गरे।

साथै,उनले स्थानीय बासिन्दालाई सहयोगका लागि आग्रह गर्दै यस परियोजनालाई सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

भवन सम्पन्न भएपछि यस प्रतिष्ठानमा विभिन्न चिकित्सा तथा स्वास्थ्य विज्ञानसम्बन्धी अध्ययन कार्यक्रम सञ्चालन गरिने बताइएको छ। मुख्यमन्त्री सिंहले समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्दै आगामी दिनमा मधेश प्रदेशलाई स्वास्थ्य र शिक्षामा आत्मनिर्भर बनाउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याए।

प्रतिष्ठानका उपकुलपति प्राचार्य डा.अंकुर साहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा प्रतिष्ठानका रेक्टर डा.रामनरेश पण्डित ,प्रादेशिक अस्पताल जनकपुरधामको निर्देशक डा.जामुन प्रसाद सिंह,जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र मण्डललगाइएको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८१ चैत्र १८, सोमबार १६:१३

तपाईको प्रतिक्रिया !