हनुमानी गिरोहविरुद्ध अदालतमा मुद्दा

हनुमानी गिरोहविरुद्ध अदालतमा मुद्दा
मधेशपत्र मधेशपत्र २०८१ फाल्गुन २१, बुधबार १९:२७
हनुमानी गिरोहविरुद्ध अदालतमा मुद्दा

राजविराज : नोट दोब्बर पारिदिने प्रलोभन दिई सोझासाझा र निमुखा जनतालाई वर्षौँदेखि ठगी गर्दैआएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ का हनुमानी भन्ने रामबहादुर रजक समूहविरुद्ध आज जिल्ला अदालत सप्तरीमा मुद्दा दायर गरिएको छ ।

नोट छापेर पैसा दोब्बर पारिदिने भन्दै आपराधिक कार्य गर्दैआएको सो समूहका हनुमानीलगायतका करिब १७ जना सदस्यविरुद्ध ठगी तथा संगठित अपराधमा मुद्दा दायर गरिएको छ ।

अभियोगअनुसार कसुर प्रमाणित भएमा दोषीलाई ठगी मुद्दामा अधिकतम सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिबाना हुनेछ भने संगठित अपराधमा समेत कसुर ठहर भएमा तोकिएको सजायको थप आधा सजाय हुनेछ ।

हनुमानी समूहले गरेको ठगीविरुद्ध पीडितहरूको जाहेरी आउन थालेपछि सप्तरी प्रहरीले ठगी तथा आपराधिक विश्वासघात मुद्दा कायम गरी विभिन्न व्यक्तिलाई पक्राउ गरेको थियो । तीमध्ये चारजना अझै हिरासतमा छन् । ६० दिनभित्र अनुसन्धान सक्नुपर्ने प्रावधानअनुसार अन्तिम दिन आज १४ वटा जाहेरीका आधारमा अदालतमा मुद्दा दायर गरिएको हो ।

सोही मुद्दामा पक्राउ परेका सप्तरीका पत्रकार वैधनाथ यादवलाई अस्वस्थताको कारण देखाई छाडिएपछि प्रहरी अनुसन्धान राजनीतिक दबाबमा परेको अनुमान गरिएको थियो । त्यसपछि सो ठगी प्रकरणको अनुसन्धान निष्पक्ष तथा प्रभावकारी बनाई पीडितलाई न्याय दिलाउन जनमत पार्टीले लगातार प्रहरीलगायत अनुसन्धानमा संलग्न अधिकारीहरूलाई सजग बनाउँदै आएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र सरकारी वकिल कार्यालयद्वारा नोट छाप्ने संगठित अपराधमा मुद्दा कमजोर बनाई पीडकहरूलाई उन्मुक्ति दिन खोजिएको भन्दै पीडितहरूले सप्तरीको राजविराजमा प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति: २०८१ फाल्गुन २१, बुधबार १९:२७

तपाईको प्रतिक्रिया !