अझ पनि हामी धेरै अधिकारबाट बञ्चित नै छौं : मुख्यमन्त्री सिंह

अझ पनि हामी धेरै अधिकारबाट बञ्चित नै छौं : मुख्यमन्त्री सिंह
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८१ माघ ५, शनिबार १८:५३
अझ पनि हामी धेरै अधिकारबाट बञ्चित नै छौं : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले प्रदेश अझ पनि धेरै अधिकारबाट बञ्चित रहेको बताएका छन् ।

गृह ,संचार तथा कानुन मन्त्रालय र मधेशी शहिद प्रतिष्ठानद्वारा जनकपुरको महेन्द्र नारायण निधी भवनमा आयोजित ७ औं बलिदानी दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन ।

मुख्यमन्त्री सिंहका अनुसार शहिदको बलिदानीका कारण देशमा संघीयता आएको छ, धेरै उपलब्धीहरु भएका छन् । तर अझ संविधान अनुसार पाउनुपर्ने धेरै अधिकारहरु नपाइएको उनको गुनासो छ ।

उनी भन्छन्, ‘संविधानमा धेरै अधिकारको सुनिश्चत गरिएकोे छ, तर अझ पनि हामी धेरै अधिकारबाट बञ्चित नै छौं । ठूला उद्योगहरु हामी सञ्चालन गर्न पाउँदैनौं, किनकी यसको संघ सरकारबाट स्वीकृति पाउने नीति छ ।’ उनका अनुसार प्रदेशको अधिकार धेरै कुण्ठित गरिएको छ ।

उनले भने, ‘ हामीलाई खडा त गरिदिएको छ, तर हात, खुट्टा, मुख संघ सरकारले सबै बाँधेर राखिदिएको छ । ताकी केही गर्न नपाइयोस । तरपनि हामी चित बुझाइरहेका छौं , किनकी हाम्रो संरचना त खडा भएको छ ।’ त्यस मानेमा यो उपलब्धी नै भएको मुख्यमन्त्री सिंहको भनाइ छ ।

बलिदानी दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले प्रदेशमा शिक्षाको अवस्था चिन्ताजनक रहेको टिप्पणी गरेका थिए ।
उनी भन्छन्, ‘शिक्षामा पहिला मधेसको अवस्था राम्रो थियो, गणित, अंग्रेजी जस्ता विषयमा मधेसको अग्रस्थान थियो । तर मधेसमा सुनियोजित ढंगले शिक्षाको अवस्था बर्बाद पारिएको छ, अभिभावकहरुले आ–आफ्नो बच्चासंग पढाइको बारेमा सोधपुछ गर्न छाडेका छन् । जसकारण शिक्षाको स्तर खस्किदै गएको छ ।’

बलिदानी दिवसको अवसरमा मुख्यमन्त्री सिंहले यो वर्ष शहीद परिवार तथा घाइतेहरुका लागि सरकारले ३ करोड ६१ लाख रुपैयाँ छुटयाएको जनाए । उनका अनुसार शहीद परिवारलाई प्रदेश सरकारले जनही ३ लाख दिने निर्णय भएको छ ।

यसैगरी गम्भीर घाइते भएकाहरुलाई जनही २ लाख, त्यसपछिका घाइतेहरुलाई क्रमशः जनही डेढ लाख र एक लाख रुपैयाँ दिने निर्णय भएको मुख्यमन्त्री सिंहले बताए ।

यसको साथै शहीद परिवारका लागि बीमा कार्यक्रम तथा बच्चाहरुको उच्च शिक्षाका लागि छात्रवृतिको कार्यक्रम पनि समेत अघि सारिएको उनले प्रष्टयाए ।

कार्यक्रममा सभामुख रामचन्द्र मण्डल, शिक्षा मन्त्री रानी शर्मा तिवारी, गृहमन्त्री राजकुमार लेखी, खेलकुद मन्त्री प्रमोद जैसवालसहितको सहभागीता थियो ।

प्रकाशित मिति: २०८१ माघ ५, शनिबार १८:५३

तपाईको प्रतिक्रिया !