जनमत पार्टीद्वारा सभामुख घिमिरेको राजीनामा माग

जनमत पार्टीद्वारा सभामुख घिमिरेको राजीनामा माग
मधेशपत्र मधेशपत्र २०८१ मंसिर १७, सोमबार १४:५१
जनमत पार्टीद्वारा सभामुख घिमिरेको राजीनामा माग

काठमाडौँ : जनमत पार्टीले सभामुख देवराज घिमिरेले आफ्नो नातेदार भएका कारणले सांसद गोमा लाभ सापकोटालाई कारबाही नगरेको भन्दै सभामुखको राजीनामा मागेको छ ।

पार्टी प्रवक्ता शरदसिंह यादवले सोमवार विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेको र सांसद पदबाट मुक्त गर्न निर्णय गरेको सापकोटालाई एमाले प्रवेश गर्न लागेकाले बचाउ गरेको बताएका छन् ।

‘कोही प्रतिनिधिसभा सदस्य सभामुखको नातेदार र समुदायको मान्छे पर्‍यो भन्दैमा र सभामुखको (पूर्व) पार्टी नेकपा (एमाले) मा जाने वचनबद्धता गर्‍यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्याई कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैर संवैधानिक कदमद्वारा रक्षा गर्ने सभामुखले अविलम्ब राजीनामा दिनुपर्दछ‚’ विज्ञप्तिमा उनले लेखेका छन् ।

विज्ञप्तिमार्फत जनमत पार्टीले सभामुख घिमिरेले संसदमा यस अघि पनि भाषा र भेसभुसाको प्रयोग सम्बन्धमा, जनमत पार्टीसहित मधेस केन्द्रित दलका सांसदहरूलाई दिने विशेष‚आकस्मिक समय प्रदान गर्नमा पनि विभेद गर्दै आएको उल्लेख गरेको छ ।

‘रङ्गभेद विरुद्ध सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्ने सम्बन्धमा र सो प्रस्ताव टेबल गर्ने सम्बन्धमा चरम नस्लवादी र रङ्गभेदी व्यवहार देखाउँदै आएको छ । सङ्घीय संसद् सचिवालयले मधेसीहरूप्रति देखाएको रङ्गभेदी र नस्लवादी व्यवहार र नीतिको हामीले संसद्मा समेत घोर विरोध गर्ने छौँ । सङ्घीय संसद् सचिवालयले आफ्नो नश्चवादी निर्णय नसच्चाए हामी संसद् अवरुद्ध गर्न बाध्य हुनेछौँ‚’ विज्ञप्तिमा लेखिएको छ ।

सभामुख देवराज घिमिरेले ०८१ मङ्सिर ०७ मा जनमत पार्टीले जनमत पार्टीको उजुरी सुनुवाइ गर्दै गोमा लाभ सापकोटालाई कारबाही गरेको सूचना टाँस्न अस्वीकार गरेका थिए । जनमतले भने प्रक्रिया पुराएर सापकोटालाई कारबाही गरिएको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति: २०८१ मंसिर १७, सोमबार १४:५१

तपाईको प्रतिक्रिया !