मुख्यमन्त्री सिंहद्वारा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल उद्घाटन

मुख्यमन्त्री सिंहद्वारा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल उद्घाटन
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक २८, बुधबार १९:२२
मुख्यमन्त्री सिंहद्वारा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल उद्घाटन

जनकपुरधाम : तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियासँगको साझेदारीमा निजगढमा निर्माण सम्पन्न भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्घाटन गरेका छन् ।

मुख्यमन्त्री सिंहले बुधबार उद्घाटन गरी सेवा सुचारु गरिएको छ । यो अस्पताल बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले भने , ‘यस आँखा अस्पतालले आँखा उपचारको लागि मात्र नभएर मेडिकल टुरिजमको लागि पनि योगदान दिनेछ ।’

करिव ३० करोडको लागतमा बनेको यो अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको छ जसले स्थानिय समुदायलाई गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य आँखा उपचार सेवा उपलब्ध गराउनेछ ।

तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रुइटले भने, ‘यो भेगमा गुणस्तरीय, सर्वशुलभ र पहुँच योग्य अस्पताल ल्याउने हाम्रो सपना आज साकार भएको छ ।’

द फ्रेड हलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले भने, ‘यो अस्पताल, द फ्रेड हलोज फाउन्डेशनको लागि नयाँ अध्यायको शुरुआत हो, जसले तिलगंगा आँखा प्रतिष्ठान, स्थानीय साझेदार र समुदायहरूसँग एक मजबुत र दिगो सम्बन्ध स्थापित गरेको छ ।’

वर्तमानमा, नेपालमा करिव ९३,३०० जना दृष्टिविहिन छन् र करिव ७,८२,७०० जनाले कुनै न कुनै प्रकारको दृष्टि समस्या सहित जीवन व्यतित गरिरहेका छन् । अन्धोपनको भार मधेश प्रदेशमा देशकै दोस्रो उच्चतम स्थानमा रहेको छ तथापि, ८० प्रतिशत दृष्टि समस्याको उपचार सम्भव छ र अत्यन्तै कम लागतमा प्रभावकारी उपचार विधिहरूबाट यसको उपचार गर्न सकिन्छ ।

प्रतिष्ठान अन्तर्गतको निजगढ तिलगंगा सामुुदायिक आँखा अस्पतालले मोतिविन्दु, दृष्टिदोष, डाइबेटीक रेटिनोप्याथी, र अन्य आँखा रोगहरूको उपचारमा ध्यान दिनेछ, जसका लागि अत्याधुनिक उपचार विधी र समग्र सेवा प्रदान गरिनेछ । नेपालमा अन्धोपन र न्यून दृष्टिको प्रमुख कारण मोतिविन्दु हो । अन्धोपन भएका मध्ये अनुमानित ६६।८ प्रतिशत व्यक्ति मोतीविन्दुको कारणबाट भएको देखिन्छ ।

आगामी पाँच वर्षमा, यो अस्पतालले मधेश प्रदेशबाट अनुमानित २ लाख ७४ हजार आँखा बिरामीको उपचार गर्ने लक्ष्य लिएको छ । यो अस्पतालले प्रत्यक्ष वा परोक्ष रुपमा यस क्षेत्रका ३० लाख भन्दा बढि व्यक्तिहरूमा गुणस्तरिय आँखा सेवाको पहुँच विस्तार गर्ने आकंलन गरिएको छ ।

विशार्टले थपे ‘फाउन्डेशनले तिलगंगा आँखा प्रतिष्ठानसँगको साझेदारीमा नेपालमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा गर्व महसुस गर्दछ ।’

नेपालमा महिलाहरू पुरुषहरूको तुलनामा दुइ तिहाई बढी दृष्टिविहिन वा दृष्टिको समस्यामा छन् । यस अस्पतालले बाह्य कार्यक्रम मार्फत विशेष प्राथमिकताका साथ आँखा स्वास्थ्यको पहुँच सम्बन्धि विद्यमान लैगिंक असमानता समाधान गर्ने दिशामा महत्वपूर्ण कदम चाल्नेछ ।

स्वास्थ्य क्षेत्रले विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनमा अनुमानित ४–५ प्रतिशत अंश रहेको देखिन्छ, त्यसैले यो अस्पतालले नवीकरणीय ऊर्जा प्रयोग गरि सौर्य उर्जाको उपयोग र प्रभावकारी वातावरण अनुकुल प्रणालीहरू प्रयोगमा ल्याउने छ ।

प्रकाशित मिति: २०८१ कार्तिक २८, बुधबार १९:२२

तपाईको प्रतिक्रिया !