सिमलताल बस दुर्घटना: ज्यान गुमाएका ३९ जनाको परिवारलाई मधेश सरकारले गरे १/१ लाखको चेक हस्तान्तरण

सिमलताल बस दुर्घटना: ज्यान गुमाएका ३९ जनाको परिवारलाई मधेश सरकारले गरे १/१ लाखको चेक हस्तान्तरण
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १८, शुक्रबार १६:३३
सिमलताल बस दुर्घटना: ज्यान गुमाएका ३९ जनाको परिवारलाई मधेश सरकारले गरे १/१ लाखको चेक हस्तान्तरण

जनकपुरधाम : सिमलताल बस दुर्घटनामा परी मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक÷एक लाखको चेक हस्तान्तरण गरेको छ ।

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक/एक लाखको चेक हस्तान्तरण गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

करिब तीन महिना पछाडि सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शुक्रबार चेक हस्तान्तरण गरिएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।

उनका अनुसार प्रदेशका चार जिल्लाको ३९ जना मृतकका परिवारलाई जनही एक/एक लाख रुपैयाँको दरले चेक हस्तान्तरण गरिएको हो ।

सिमलताल बस दुर्घटनामा मधेश प्रदेशबाट धेरै जनाले ज्यान गुमाएको पाइएको उनको भनाइ छ । ‘तर सबै जिल्लाका सिडिओ कार्यालयहरुले सनाखत गरेर हामीलाई विवरण पठाएको थियो, त्यही विवरणको आधारमा चेक वितरण गरेका हौं,’ उनले भने ।

जसमध्ये दुर्घटनामा ज्यान गुमाउने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले पठाएको विवरण अनुसार प्रदेश सरकारले चेक हस्तान्तरण गरेको मुख्यमन्त्री सिंहको भनाइ छ ।

‘जिल्ला प्रशासन कार्यालयहरुले सबैको छानविन गरेर हामीलाई सूचि पठाएको थियो, त्यो सूचि अनुसार आज हामीले चेक बनाएर प्रदेशका चारवटै जिल्ला प्रशासन कार्यालयहरुमा पठाइसकेका छौं, उनले भने, ‘त्यो चेक अब जिल्ला प्रशासन कार्यालयहरुले वितरण गर्नेछन्, पठाएको सूचि अनुसार ।’

मधेश सरकारका अनुसार पर्साबाट १०, बाराबाट ६, रौटहटबाट १९ र सर्लाहीबाट ४ जनाले सिमलताल दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

गएको २८ असारमा नारायणगढ–मुग्लिङ सडकस्थित सिमलतालमा दुइवटा बस दुर्घटनामा परेको थियो । उक्त बस दुर्घटनामा परी मधेशका पर्सा, बारा, रौतहट र सर्लाहीका गरी ३९ ले ज्यान गुमाएको अहिलेसम्मको तथ्यांक पाइएको मधेश सरकारले जनाएको छ ।

प्रकाशित मिति: २०८१ आश्विन १८, शुक्रबार १६:३३

तपाईको प्रतिक्रिया !