समृद्ध मधेस निर्माणको अभियान जारी छ : मन्त्री दाहाल

समृद्ध मधेस निर्माणको अभियान जारी छ : मन्त्री दाहाल
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १०, बिहीबार १३:२४
समृद्ध मधेस निर्माणको अभियान जारी छ : मन्त्री दाहाल

महोत्तरी: भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘समृद्ध मधेस’ निर्माण गर्न सङ्घीय सरकारले आवश्यक योजना बनाएर कार्यान्वयनको चरणमा गएको बताए ।

आज प्रेस चौतारी महोत्तरीले लालगढमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री दाहालले समृद्धि मधेस निर्माण गर्ने सरकारको अभियान जारी रहेको बताए।

ADVERTISEMENT

महोत्तरी र धनुषामा रहेका मन्त्रालय मातहतका आयोजनाको निरीक्षण गर्न आएका उनले समृद्ध मधेसले मुलुकको मुहार फेर्ने भएकाले सोहीअनुसार योजनाबद्ध रुपमा मधेशलाई समृद्ध बनाउन लागिएको उल्लेख गरे।

पूर्वपश्चिम राजमार्ग, उत्तर दक्षिणका व्यापारिक केन्द्र र सदरमुकाम जोड्ने अधिकांश सडक निर्माण भइसकेका र कतिपय निर्माणको अन्तिम चरणमा रहेका मन्त्री दाहालले भने । मधेसमा बर्दिबास–जयनगर रेलसेवा महत्वाकाङ्क्षी आयोजना भएको उल्लेख गर्दै उनले यो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गरे ।

“जयनगर बर्दिबास रेल सेवाका तीनमध्ये दुई खण्डमा सेवा सञ्चालनमा भइरहेको छ”, मन्त्री दाहालले भने, “भङ्गाहा–बर्दिबास खण्डको काम पनि चाँडै सुरु गर्ने तयारी गरिरहेका छौँ ।” भङ्गाहा–बर्दिबास खण्डअन्तर्गत बर्दिबासमा रेलस्टेसन बन्ने ठाउँ नजिकको केही जग्गामा घर तथा संरचना हटाउन नसक्दा निर्माण ढिलाइ भएको उनले बताए ।

सरकारले राष्ट्रिय महत्वका चाडपर्वअघि सबै सडकका खाल्डाखुल्डी पुर्ने काम थालेको बताउँदै मन्त्री दाहालले एक साताभित्र सडक मर्मत कार्य सम्पन्न भइसक्ने जानकारी दिए । मधेसको मुख्य केन्द्र पूर्वपश्चिम राजमार्गको कमला पुलबाट पश्चिम बागमतीसम्म अत्याधुनिक चारलाइन (फोरलाइन) सडक निर्माणको ठेक्का स्वीकृत प्रक्रिया टुङ्गिएर यथाशीघ्र काम सुरु हुने उनले बताइएको छ ।

कमला पुल निर्माण गर्दा प्राविधिक पक्षसँग छलफल गरी उहाँहरुको रायअनुसार अघि बढाइने मन्त्री दाहालले स्पष्ट पारे । सरकार सुदृढ इच्छाशक्तिका साथ योजनाबद्ध रुपमा विकास तथा पूर्वाधार निर्माणमा अघि बढिरहेको बताउँदै उहाँले यसका सकारात्मक परिणाम विस्तारै देखिने उल्लेख गरे ।

मन्त्रालयका सचिव, हुलाकी सडक कार्यालय मुजेलियाका प्रमुख, रेल विभागका महानिर्देशक, उच्च अधिकारीलगायतले मधेसमा सञ्चालित विभिन्न आयोजनाको स्थलगत निरीक्षण गरेको थियो ।

प्रकाशित मिति: २०८१ आश्विन १०, बिहीबार १३:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !