देशको राजनीति सहि दिशामा ल्याउन आवश्यक : अध्यक्ष डा.राउत

देशको राजनीति सहि दिशामा ल्याउन आवश्यक : अध्यक्ष डा.राउत
मधेशपत्र मधेशपत्र २०८१ भाद्र ३१, सोमबार १९:०७
देशको राजनीति सहि दिशामा ल्याउन आवश्यक : अध्यक्ष डा.राउत

बाँके : जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले जनताको अधिकार र हक प्राप्तिसँगै विकास निर्माणका लागि देशको राजनीति सहि दिशामा ल्याउन आवश्यक रहेको बताए ।

जनमत पार्टी बाँकेका जिल्ला ईन्चार्ज बिष्णु यादवका अध्यक्षतामा सोमबार नेपालगन्जमा आयोजना गरेको प्रशिक्षण तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा.राउतले जनताको मत र समर्थनबाट राजनीति अगाडि बढ्ने भएकाले हरेक जनताले सहि राजनीति दल र सहि विचारधारा भएकोलाई समर्थन तथा सहयोग गर्नुपर्ने उनले बताए ।

देशका किसान, मजदुर, व्यापारी र कर्मचारी सबैको अधिकार प्राप्त हुने मुख्य माध्यम नै राजनीति भएकाले हरेकले राजनीतिलाई बुझ्नु पर्ने र सहि दिशामा लैजान प्रयास गर्नुपर्ने अध्यक्ष डा.राउतले जिकिर गरे ।

जनमत पार्टीले तराई मधेशलगायत सबै नेपाली जनताको हक अधिकारका लागि आन्दोलन गर्ने तयारी गरिरहेको भन्दै अध्यक्ष डा.राउतले अहिले आफू सोही सिलसिलामा यहाँ आएको बताए ।

उनले भने, ‘तपाईँहरूले सोच्दै हुनुहुन्छ होला, म यहाँ अहिले किन आए, म अहिले तपाईँसँग आन्दोलन माग्न आएको छु । सबैले मलाई आन्दोलन दिनुस् । म तपाईँको अधिकारका लागि लड्नेछु ।’

कार्यक्रमका विशिष्ट अतिथि जनमतका उपाध्यक्ष एवम् पूर्व खानेपानी मन्त्री अब्दुल खानले देशमा समाजवाद आउने अवस्था तयार नभएको दाबी गरे ।

उपाध्यक्ष खानले संविधान सभामा मधेशको मुद्दालाई सशक्त रूपमा उठाउन मधेशी जनताले जिताएका मधेशी नेताहरू सत्तामा रुमलिएर छिन्नभिन्न भएकोले मधेशको समस्या समाधान नभएको र जनमत पार्टीले मधेशको समस्या समाधान गर्ने गरि काम गरिरहेको बताए।

वर्तमान सरकारलाई टिकाउन सके देशमा महत्त्वपूर्ण परिवर्तन हुने उनको भनाई थियो ।

नेपालगन्जमा आयोजित प्रशिक्षण कार्यक्रममा जनमत पार्टीका अनुशासन विभाग प्रमुख दीपककुमार साह,सङ्गठन विभाग प्रमुख डा.जयकान्त राउत,पार्टीका सचिव राधा यादव,केन्द्रीय सदस्य सन्ध्या देव,हरपाल सिंह लगायतले प्रशिक्षण दिएको थियो ।

 

प्रकाशित मिति: २०८१ भाद्र ३१, सोमबार १९:०७

तपाईको प्रतिक्रिया !