जनमतका उपाध्यक्ष ई.साहले उठाए इपीजी प्रतिवेदन खारेजीको माग

जनमतका उपाध्यक्ष ई.साहले उठाए इपीजी प्रतिवेदन खारेजीको माग
मधेशपत्र मधेशपत्र २०८१ भाद्र ३०, आईतवार ०७:५३
जनमतका उपाध्यक्ष ई.साहले उठाए इपीजी प्रतिवेदन खारेजीको माग

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत प्रबुद्ध समूह (इपीजी) प्रतिवेदन बुझ्नका लागि भारतलाई दबाब दिइरहेको बेला जनमत पार्टीले सो प्रतिवेदनलाई स्वीकार गर्न नसकिने र त्यसको खारेजीका लागि मधेसीहरू आवाज उठाउनु पर्ने बताएका छन् ।

जनमत पार्टीका उपाध्यक्ष ई.दीपक कुमार साहले इपीजीको प्रतिवेदनले नेपाल–भारत सीमावर्ती बासिन्दाले भोगिरहेको समस्यालाई सम्बोधन नगरेकाले प्रतिवेदन स्विकार्न गर्न सकिने र त्यसलाई सम्पूर्ण मधेसीहरू एकजुट भएर खारेजीका लागि अबाज उठाउनुपर्ने बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘इपीजीमा सीमावर्ती क्षेत्रका जनताको प्रतिनिधित्व नभएकाले प्रतिवेदन पुनरावलोकन गर्नुपर्छ ।’

प्रतिवेदनले नेपाल–भारत सम्बन्धको पुनरावलोकन गर्ने भनिए पनि, मधेसी समुदायको विशेष आवश्यकता र समस्या सम्बोधन नगरेको उल्लेख गर्दै उनले मधेसी समुदायको ऐतिहासिक सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्ध भारतसँग रहेको छ, जुन यो प्रतिवेदनले उपेक्षा गरेको उल्लेख गरेका छन् ।

मधेसी समुदायको लागि नेपाल–भारत खुला सिमाना जीवनयापनको आधार हो बताउँदै उपाध्यक्ष साहले प्रतिवेदनले यसलाई कडा व्यवस्थापन गर्ने र नियन्त्रण गर्ने सुझाव दिन सक्ने र त्यसले मधेसीको दैनिक जीवनमा ठुलो प्रभाव पार्न सक्ने बताए । सीमा क्षेत्रमा भइरहेको आप्रवासन, रोजगारी, र आर्थिक क्रियाकलापलाई सहज बनाउन प्रतिवेदनले ठोस योजना पेस गरेको उल्लेख गर्दै उपाध्यक्ष साहले नेपाल र भारतबिच मधेसमा हुने पारिवारिक, धार्मिक, र सांस्कृतिक सम्बन्ध प्रतिवेदनले कमजोर बनाउने बताएका छन् ।

मधेसीहरू भारतमा रहेको सांस्कृतिक सम्पत्ति र धार्मिक केन्द्रहरूसँग गहिरो सम्बन्ध राख्छन् । यदि प्रतिवेदनले सीमालाई कडाइ गरेमा, यी सम्बन्धमा अवरोध उत्पन्न हुनेको बुझाइ रहेको छ ।

मधेसीको लागि भारतसँगको सम्बन्ध राजनीतिक मात्र नभएर भावनात्मक र सांस्कृतिक पनि रहेको उल्लेख गर्दै यसलाई कमजोर पार्नु मधेसी समुदायको पहिचान र हक हितको हनन हुने बताउँदै उनले प्रतिवेदनमा जलस्रोत व्यवस्थापनका सन्दर्भमा काठमाडौँदेखि धेरै टाढा रहेको मधेसीहरूको अधिकारलाई बेवास्ता गरिएको बताएका छन् ।

भारतसँगको जलस्रोत साझेदारीमा मधेसीहरूको आवाज नसमेटिँदा यसले विकास परियोजनामा उनीहरूको पहुँच र लाभलाई सीमित गर्न सक्ने बताउँदै उपाध्यक्ष साहले इपीजी प्रतिवेदनले सुरक्षा सम्बन्धी सुझावहरू दिनेछ, जसले मधेसमा सैन्य उपस्थिति र सीमा सुरक्षा कडाइ गर्न सक्ने सम्भावना रहेको बताए । प्रतिवेदनले मधेसीहरूको राष्ट्रिय सुरक्षा चासोलाई समेट्न असफल भएको छ, जसले सशक्तीकरणको सट्टा उनीहरूको सुरक्षा कमजोर पार्न सक्छ । प्रतिवेदनले मधेसको भौगोलिक महत्वलाई ध्यानमा नराखी दुई देश बिचको सम्बन्धलाई पुनः परिभाषित गर्न सक्छ, जसले मधेसीहरूको सामरिक र आर्थिक सशक्तीकरणमा बाधा पुर्याउन सक्ने उनले बताए ।

नेपाल–भारत सम्बन्धमा मधेसको विशेष महत्वलाई ख्याल नगरिएको र यसले मधेसी समुदायको भविष्यमा गहिरो असर पुर्‍याउने बताउँदै उनले प्रतिवेदनले मधेसी समुदायका यथार्थ समस्याहरू सम्बोधन नगरेकाले यसलाई खारेज गर्नका लागि मधेसी समुदायले एकजुट भएर माग उठाउनुपर्ने कुरामा जोड दिएका छन् ।

प्रकाशित मिति: २०८१ भाद्र ३०, आईतवार ०७:५३

तपाईको प्रतिक्रिया !